Harsamaya
घाइते पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासंघको ध्यानाकर्षण
शिक्षक आन्दोलनकोमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा घाइते।

काठमाडौं - आज शिक्षक आन्दोलनकोमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा घाइते हुदाँ नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबीच आज काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएकी थिईन् ।

घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार खेदजनक रहेको र संवैधानिक अधिकारमा आघात पुगेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ । यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।’

महासंघले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग पनि गरेको छ ।
Photo-1745764235.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update