Harsamaya
बानेश्वरमा शिक्षक र प्रहरीबिच  झडप, शिक्षक महासङ्घले बोलायो  आकस्मिक बैठक

काठमाडाैं - आन्दोलनरत शिक्षक र प्रहरीबिच झडप भएपछि  नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । आन्दोलनले उग्ररूप लिएपछि महासङ्घले आकस्मिक बैठक आह्वान गरेको हो । महासङ्घले आज दिउँसो तीन बजे बानेश्वरमा रहेको रत्न राज्य माध्यमिक विद्यालयमा  बैठक बोलाएको छ ।

बैठकमा महासङ्घका पदाधिकारीहरू, जिल्ला अध्यक्षहरू, आन्दोलन परिचालन समितिका पदाधिकारीहरूलाई बोलाइएको छ । बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुने महासंघ अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो । प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले सडक छेउछाउ भएका ढुंगा प्रहरीमाथि प्रहार गरेका थिए । झडपमा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् ।

नेपाल शिक्षक महासङ्घका महासचिव तुला बहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरू उपचार भइरहेको बताए । धेरै  चोट लागेका शिक्षकहरूलाई उपचारका लागि सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूलाई आन्दोलन स्थलमै उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update