
काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा पुनः राजावादी आन्दोलनमा सक्रिय भएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख १५ गते अर्थात् भोली आयोजना गर्न लागेको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।
उनले लेखेका छन् ‘भोलि वैशाख १५ गते राप्रपा नेपालको आयोजनामा आस्थाका बन्दीहरूको तत्काल रिहाइ र विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन पाइँदैन भन्दै काठमाडौँको प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सहभागिताको निमित्त सम्पूर्ण हिन्दुवादी, राजावादी, राष्ट्रवादी र प्रजातन्त्र प्रेमीहरूमा हार्दिक अनुरोध गर्दछु,’।
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दोषी रहेको भन्दै पक्राउ परेका उनी केही दिन अघि मात्र स्वास्थ्य उपचारका लागि हिरासतबाट छुटेका थिए । हिरासतबाट छुटेर उनी उपचारका लागि भारत गएका थिए।
राप्रपाको जनआन्दोलन परिचालन समिति संयोजक समेत रहेका राणाले देशले अहिले परिवर्तन खोजेको भन्दै सबैलाई एकजुट हुन समेत आग्रह गरेका छन्। ‘देशले अहिले परिवर्तन खोजेको छ,’ उनले भनेका छन्, ‘जनता स्थिरता र समृद्धिको पक्षमा छन्। देश र जनतालाई केन्द्रमा राखेर एक पटक सम्पूर्ण जनता जुरुक्क उठ्नुपर्ने बेला आएको छ। समान विचार बोक्नेहरूबिच अहिले एकताको आवश्यकता छ। सबै मिलौँ, जुटौँ। देश बचाउने र बनाउने महान् अभियानमा हातेमालो गर्दै कम्मर कसेर लगौँ।’