Harsamaya

जनकपुर - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले भाटभटेनी लुटपाटमा संलग्न सहमहामन्त्रीको छोराको नाम र तस्वीर सार्वजनिक गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिएका छन् ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा आइतबार पत्रकार सम्मेलनमार्फत पूर्वमन्त्री समेत रहेका सहमहामन्त्री यादवले आफू र आफ्नो पार्टीलाई लक्षित गर्दै लिङदेनले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । होइन भने उनले कानुनी उपचार खोज्नेसमते जनाएका छन् ।

‘चैत १५ गते भाटभटेनी लुटपाटमा कुन सहमहामन्त्रीको छोरा थियो ? तस्वीर सार्वजनिक गर्नुहोस । होइन भने हामी सहमहान्त्रीहरु तपाईविरुद्ध अदालत जान्छौ ।’उनले भने ।

गएको शुक्रबार राप्रपा अध्यक्ष लिङदेनले प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै भाटभटेनीमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि पक्राउ परेको दावी गरेका थिए । गृहमन्त्रीको ठाडो आदेशमा सहमहामन्त्रीका छोरालाई तत्काल छाडेको भनेर प्रतिनिधिसभामा बताएका थिए ।

उनले राखेको अभिव्यक्तिको केही बेर नबित्दै केही मिडियाहरुले सहमहामन्त्री यादवको छोरा मुकेश यादव पनि भाटभटेनी लुटपाटमा पक्राउ परेको भनेर खबर प्रकाशित गरेका थिए ।

नेता यादवका दुई सन्ता मात्र छन् । डा. आकाश यादव र डा. विकास यादव । मानसिक तनाव र यसले गर्दा आफ्नो चरित्र हत्या भएको भन्दै सहमहामन्त्री यादवले लिङ्दने विरुद्ध अदालत जाने जानकारी दिए ।

उनले प्रतिनिधिसभामा गलत सूचना दिएर प्रतिनिधिसभा र जनतालाई भ्रमित गर्ने प्रयास गरेको नेता यादवले थपे । दुनियामा कतै नरहेको आदर्श र एजेण्डा लिएर राप्रपाले जनतालाई भ्रमित पार्न खोजेको आरोप नेता यादवको छ ।

लिङदेनको अभिव्यक्तिविरुद्ध नेपाली कांग्रेसले मधेश प्रदेशका आठै जिल्लामा आज प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

यसअघि उनको विरोधमा धनुषाका कांग्रेसी कार्यकर्ताले हिजो मात्र जनकपुरधाम महेन्द्रनगर सडकखण्डको लक्ष्मीनियाँ बजारस्थित चक्काजाम गरेर लिङदेनको पुतला जलाएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update