
काठमाडौं - काश्मीरको पाहलगाममा हालै सम्पन्न हिन्दू तीर्थयात्रामा भएका आतंककारी आक्रमणप्रति पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवले गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा दुख व्यक्त गर्दै पूर्वराजाले घटनामा परेर ज्यान गुमाएका नेपाली नागरिकसहित सम्पूर्ण मृतक प्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै भारत सरकार र शोकसन्तप्त परिवारहरूमा हार्दिक सहानुभूति प्रकट गरेका छन्।
‘बसुधैव कुटुम्बकम्’ अर्थात् सारा संसार एउटै परिवार हो भन्ने सनातनी वैदिक विचारधाराको आदर्श विपरीत यस्तो जघन्य आतंककारी अपराध हुनु अत्यन्तै निन्दनीय र धर्मविरुद्धको पापकर्म हो,’ पूर्वराजाको सन्देशमा भनिएको छ।
उनले यस्तो अमानवीय क्रियाकलापले सम्पूर्ण हिन्दू समुदाय र विश्व मानवताको भावनामा चोट पुर्याएको उल्लेख गर्दै, विश्वस्तरबाट यस्ता घटनाको एक स्वरमा भर्त्सना हुनु जरुरी रहेको धारणा व्यक्त गरेका छन्।
पूर्वराजाको यो सन्देशले विश्व समुदायलाई आतंकवादविरुद्ध एकजुट हुन र धर्म तथा मानवताको रक्षाका लागि आवाज उठाउन आह्वान गरेको देखिन्छ।
पूर्वराजाको सन्देश :-
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट बक्सेको समवेदना सन्देश
हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्बु काश्मिर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दूवादी यात्रीहरुको दुःखद निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ । यो घटनामा परि ज्यान गुमाएका एक नेपाली सहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धान्जली । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना | यसैगरि यो दुःखद घडीमा मित्रराष्ट्र भारत सरकारप्रति पनि हामी गहिरो सहानूभूति व्यक्त गर्दछौं ।
“बसुधैव कुटुम्बकम” को आदर्श अबलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मालम्बीहरुको दिब्य मानवीय मान्यता हो । त्यो मान्यता विपरित यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं । सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ । त्यस्तो घटनाको विश्वब्यापी भत्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनु पर्छ भन्ने हाम्रो धारणा छ।
डा. फणिराज पाठक
सम्बाद सचिब
मिति : २०८२ साल बैशाख १३ गते