
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अप्रिल २२ मा कश्मीरको पाहलगाममा भएका आतंककारी हमलाको कडा निन्दा गरेका छन्। निर्दोष सर्वसाधारणमाथि लक्षित यस नरसंहारप्रति दुःख व्यक्त गर्दै डा. कोइरालाले पीडित परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
‘यो शोक र पीडाको घडीमा, हामी भारत र त्यहाँका जनतासँग ऐक्यबद्धता प्रकट गर्छौं। साथै, हमलामा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारप्रति समेत समवेदना प्रकट गर्दछौं,’ डा. कोइरालाले सामाजिक सञ्जालमार्फत बताएका छन्।
उनले उक्त आतंकी हमलामा संलग्न दोषीहरुलाई कडा कानुनी कारवाही गर्न आग्रह गर्दै आतंकवादलाई कुनै हालतमा स्वीकार्न नसकिने स्पष्ट पारे। ‘आतंकवाद जहाँसुकै, जसले जुन उद्देश्यले गरे पनि निन्दनीय छ,’ डा. कोइरालाले भने।
उनले दक्षिण एसिया दशकौँदेखि आतंकवादको सबैभन्दा ठूलो शिकार भएको उल्लेख गर्दै सीमा पारका आतंककारी गतिविधिले क्षेत्रीय शान्ति, सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको बताएका छन्। ‘आतंकवादले दक्षिण एसियाको वास्तविक सम्भावनालाई लामो समयदेखि थिचिरहेको छ,’ उनको भनाइ छ।
डा. कोइरालाको यो सन्देशले आतंकवादविरुद्धको साझा संघर्षमा दृढ प्रतिबद्धता र क्षेत्रीय शान्तिको पक्षमा नेपाली जनताको समर्थन स्पष्ट पार्दछ।