
काठमाडौं - नेपाली काङ्ग्रेस उपसभापति धनराज गुरुङले पत्रकारलाई सरकार ढल्ने र बन्ने तिर भन्दा पनि सात बुँदे कार्यान्वयन तिर ध्यान दिन आग्रह गरेका छन् ।
स्याङ्जा पत्रकार समाज नेपालको आयोजनामा काठमाडौंको बत्तीसपुतली स्थित अनुपम फुड्ल्याण्डमा आयोजना गरेको नव वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा चियापानमा कार्यक्रममा बोल्दै उनले भने ‘अहिले जहाँ गएपनी पत्रकारको प्रश्न सरकार कहिले ढल्छ भन्ने गर्नुहुन्छ । मैले पत्रकारहरूलाई आग्रह गर्छु सरकार कहिले ढल्छ होइन सात बुँदे कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गर्नुस् ।’
इतिहासमा अहिलेसम्मकै बलियो सरकार अहिलेको सरकार भएको हुँदा सरकार ढल्ने परिकल्पना पनि गर्न नसकिने बताए । उनले भने ‘यो सरकार इतिहासकै बलियो सरकार हो,ढल्ने परिकल्पना गर्न सकिँदैन ।’ देशलाई स्थायित्व प्रदान गर्न अहिलेको सरकार बनेको भन्दै जनताको पक्षमा काम नगर्ने छुट यो सरकारलाई नभएको उनको आसय थियो ।
कार्यक्रममा बोल्दै उनले स्याङ्जाको लाइफलाइनको रूपमा रहेको सिद्धार्थ राजमार्ग अबको नीति तथा कार्यक्रममा सम्बोधन हुने भन्दै त्यसको लागि बजेट समेत विनियोजन हुने बताए । उनले भने ‘सिद्धार्थ राजमार्गको बिषयमा अर्थमन्त्रीसंग पटकपटक कुरा भएको छ । अहिलेको नीति तथा कार्यक्रममा पनि पर्छ र त्यसको लागि बजेट पनि विनियोजन हुन्छ ।’
शिक्षकको आन्दोलनको विषयमा राय राख्दै उनले ऐन पसलबाट समान किने जस्तो नहुने बताए । उनले भने ‘शिक्षकहरू यतिबेला सडकमा हुनुहुन्छ,ऐन लिएर मात्रै जाने भन्नुहुन्छ,ऐन पसलमा समान किने जस्तो होइन ।’ ऐन छिटो जारी गर्न रातदिन काम गरेको भन्दै संशोधन धेरै परेको हुँदा अल्लि ढिला भएको भन्दै ऐन जारी गर्ने काम तीव्र रूपमा अगाडि बढेको बताए । देशको पुरै शिक्षा क्षेत्र मिलाउन कानुन बनाउँदा सबैको राय समेटेर बनाउनुपर्ने भन्दै शिक्षा ऐन आउन अल्लि ढिला भएको धारणा उनले राखे ।