Harsamaya
पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको मृत्यु, कांग्रेसद्वारा गहिरो दुःख व्यक्त
नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोल ।

काठमाडौं - नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा मृत्यु भएको छ । डंगोलको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । 

विगत लामो समयदेखि प्रोस्टेट क्यान्सर, मधुमेहबाट पीडित डंगोलको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसले डंगोलको पार्थिव शरीरलाई आज (वैशाख १३) गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेको छ ।  अपरान्ह २ बजे काठमाडौंको टेकु दोभानमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । 

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति, पूर्व स्वास्थ्य राज्यमन्त्री, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र शालीन व्यक्तित्व तीर्थराम डंगोलको निधनको खबरले मलाई अत्यन्त दुःखित र मर्माहत बनाएको छ । स्वर्गीय डंगोलले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’

नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत रहेका स्वर्गीय डंगोल वि.सं. २०४३ मा काठमाडौं नगरपालिकाको उप प्रमुखमा निर्वाचित भएका थिए । स्वर्गीय डंगोल २०५६ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित र २०६४ मा संविधान सभाको सदस्य भए । निरंकुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/०६३ मा काठमाडौं जिल्लाका सभापतिको हैसियतले काठमाडौं जिल्लाबाट उनले  जनआन्दोलनको नेतृत्व गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update