
काठमाडौं - सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबिच वार्ता जारी छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहान ८ बजे सुरु भएको बैठकमा सरकार र शिक्षक महासंघका प्रतिनिधिबिच वार्ता भइरहेको हो ।
वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्त र मन्त्रालयका शिक्षा सचिव दिपक काफ्ले छन् भने आन्दोलनरत नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदी, सह अध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली , महासचिव तुला बहादुर थापा, लगायत २५ जना सहभागी छन् । मन्त्रालयले हिजो आन्दोलनरत शिक्षक महासंघलाई वार्तामा आउनको लागि आव्हान गरेको थियो ।
मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आह्वान गरेसँगै शुक्रवार साँझ नै शिक्षकका केही प्रतिनिधिहरू सिंहदरबार पुगेका थिए । तर सरकारले बनाएको वार्ता टोलीप्रति असहमति जनाउँदै गेटबाटै बाहिरिएका थिए ।
गत वर्षको चैत्र २५ गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले सरकारले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म विद्यालय आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।