
कञ्चनपुर - बेलडाँडी गाउँपालिका–२ स्थित क्याम्पमा एउटा अनौठो प्रयासले मूर्त रूप पाएको छ । स्थानीयकै लगानीमा निर्माण गरिएको ‘बेलडाँडी एकता स्तम्भ’ अब यो क्षेत्रको नयाँ पहिचान बन्ने तयारीमा छ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने स्थानमा बनाइएको यो आकर्षक स्तम्भ बेलडाँडी पर्यटन प्रवर्धन, समन्वय र बेलडाँडी युवा समाजको तीन महिने समर्पित अभियानबाट सम्पन्न भएको हो। एक हजारभन्दा बढी स्थानीयवासी र दाताको योगदानमा निर्माण भएको यस स्तम्भले सामुदायिक एकताको प्रतिविम्ब प्रस्तुत गरेको छ।
मुन्नीदेवी सिंहको स्मृतिमा निर्मित यो स्तम्भमा निलो, रातो र सेतो रङ प्रयोग गरिएको छ भने, त्यसको शीर्षमा नेपालको राष्ट्रिय झन्डा र दुवैतर्फ दुई वटा घडी राखिएको छ । जसले यात्रुहरूलाई समय व्यवस्थापनमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
निर्माण कार्य सहज भने थिएन। निकुञ्ज क्षेत्र र महाकाली सिँचाइ आयोजना बीच पर्ने स्थान भएकाले अनुमति प्राप्त गर्न समय लाग्यो। तर, स्थानीय सरकारको सहयोगमा योजनालाई मूर्त रूप दिन सकियो।
यसै अवसरमा 'बेल स्मारक' पनि स्थापना गरिएको छ, जुन पञ्चायतकालदेखि बेलवृक्षको बाहुल्यका कारण ‘बेलडाँडी’ नामको ऐतिहासिक पृष्ठभूमिलाई सम्मान दिने उद्देश्यले बनाइएको हो।
नयाँ वर्षको दिन बेलडाँडी गाउँपालिकालाई स्तम्भ औपचारिक रूपमा हस्तान्तरण गरिने कार्यक्रम तय गरिएको छ।
बेलडाँडी अब न केवल गाउँको नाम हो, यो स्थानीय एकता, पहिचान र सम्भावनाको प्रतीक बन्दै गएको छ।