Harsamaya
नयाँ वर्षसँगै सेयर बजारमा उतारचढाव: नेप्से २७२२ पुगेर फेरि ओरालो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नयाँ आर्थिक वर्ष सुरु भएसँगै सेयर बजारमा उतारचढाव देखिएको छ । २०८२ को प्रारम्भसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेखनीय उतारचढाव देखिएको हो । वर्षको पहिलो कारोबार दिन अर्थात् २०८२ सालको वैशाख २ गते २६८९.२२ अंकमा खुलेको नेप्से चौथो दिनमै २७२२.७३ अंकसम्म उक्लिएको थियो।

तर त्यसपछिका दिनहरूमा बजारले स्थायित्व देखाउन नसक्दा सूचक पुनः ओरालो लाग्दै वैशाख ११ गते २६५८.०२ अंकमा झरेको छ।

अर्थशास्त्रीहरूका अनुसार, नयाँ आर्थिक वर्षको सुरुवातमा लगानीकर्ताहरूले आशावादी संकेत देखाए पनि राजनीतिक अस्थिरता, बैंकिङ तरलताको अवस्था र महँगो ब्याजदरले बजारमा निरन्तरता दिन सकेन।

बजार विश्लेषकहरूका अनुसार लगानीकर्ताहरू छोटो अवधिको मुनाफामा केन्द्रित भइरहेकाले बजार स्थिर बन्न नसकिरहेको बताउँछन् । यस अवधिमा वैशाख ५ र ६ गते बजार बन्द रहेको थियो भने वैशाख १ गते नयाँ वर्षको अवसरमा नेप्से कारोबार हुन सकेन।

बजारमा यति चाँडो यति ठूलो उतारचढाव आउनु स्वयं बजारको गहिरो विश्लेषण र रणनीतिमा पुनः सोच विचार गर्नुपर्ने संकेत हो। आगामी दिनमा सूचक स्थायित्वतर्फ फर्किन्छ कि अझै अस्थिरता बढ्छ भन्ने विषयमा लगानीकर्ताहरूको ध्यान केन्द्रित हुन थालेको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update