
रौतहट - रौतहटमा एकजना १४ वर्षीय बालकको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । ५ दिन पछि शव खोलाको पानीमा बरामद भएको छ।
जिल्लाको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एकजना बालकको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो।
पछिल्लो ५ दिन देखि हराइरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवको छोरा वर्ष १४ को कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा आज बिहान ९ बजे फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएस्पी राजन कार्कीले बताएका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ डिएसपी कार्की सहितको टोली अनुसन्धानको लागि घटनास्थलमा खटिएको छ।
बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरि हत्या गरिएको जस्तो देखिएको डिएसपी कार्कीले जानकारी दिएका छन्। बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको डिएसपी कार्कीले बताएका छन्।
शवमा किरा लागिसकेको अवस्थामा आज बरामद भएको तथा पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिाहपुर पठाइएको प्रहरीले जनाएको छ।
गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी उक्त बालक आफ्नै मोटरसाइकल चढेर निस्केको थियो ।
त्यसको ३ दिनसम्म बालक घरमा फिर्ता नआउँदा गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जेष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थियो।
घटना सम्बन्धी थप अनुसन्धान भै रहेको तथा बालकले घरबाट लिएर गएको मोटरसाइकल हाल सम्म फेला नपरेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।