Harsamaya
वैशाख १२: अर्थात् त्यो त्रासदीपूर्ण कालो दिन (भिडियोसहित)
२०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पको तस्विर ।

काठमाडौं - नेपालमा विभिन्न कालखण्डमा विनाशकारी भूकम्प गएका छन् । १९९०, २०५४, २०६८ र २०७२ सालमा ठूला भूकम्पहरू गएका छन् । पछिल्लो पटक २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प हामी सबैको मानसपटलमा कायमै छ । भूकम्प गएको १० वर्ष बितिसक्दापनि त्यसले ल्याएको त्रासदीले हामीलाई छाड्न सकेको छैन । 

२०७२ वैशाख १२ गते शनिबार बिहान ११:५६ बजे गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यो विसं १९९० को महाभूकम्प पछिको सबैभन्दा ठूलो भूकम्प थियो। यो भूकम्पमा १४ जिल्ला (सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, गोरखा, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ र काभ्रेपलाञ्चोक) अति प्रभावित भएका थिए । 

यो भूकम्पमा परी ८ हजार ५ सय ५६ जनाको मृत्यु भएको थियो भने २२ हजार ३ सय ९ जना घाइते भएका थिए । अति प्रभावित १४ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति भएको जिल्ला थियो । जहाँ ३ हजार ५७३ जनाले ज्यान गुमाएका थिए । ९० प्रतिशत व्यक्तिगत घर,सरकारी भवन र विद्यालयहरू ध्वस्त भएका थिए । उक्त भूकम्पमा नेपाल घुम्न आएका ८० विदेशी नागरिकलेसमेत ज्यान गुमाएका थिए ।

भूकम्पमा परी २ हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति भए । ३ हजार ७ सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो । यसैगरी ६ लाख २ हजार २ सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र २ लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । वैशाख १२ को महाभूकम्प र त्यसपछि आएका पराकम्पहरूले गर्दा झन्डै ३५ लाख मानिसहरू घरबार विहीन भएका थिए। 

शनिबारका दिन भूकम्प आएका कारण अधिकांश मानिसहरू घरमा भएकाले मृतकको संख्या कम भएको आँकलन गरिएको थियो । यसबाहेक भूकम्पको केन्द्रबिन्दु ग्रामीण क्षेत्रमा भएका कारण सबैभन्दा बढी प्रभावित जिल्लाहरूमा जनसङ्ख्या घनत्व कम र अधिकांश मानिसहरू भूकम्प आउँदा घरबाहिर थिए। यदि भूकम्प राती वा काम गर्ने दिनमा आएको भए थुप्रै मानिसहरू असुरक्षित भवनहरूभित्र हुन्थे जसले गर्दा मृतकहरूको सङ्ख्या बढी हुन सक्थ्यो।

यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए । भूकम्प गएको २० मिनटको अन्तरालमा पूरै देशभरी लगातार भूकम्पको पराकम्पहरू गैरहेका थिए भने वैशाख १३ का दिन रातको १२ बजेर ५४ मिनेट जाँदा ६.७ रेक्टर स्केलको अर्को भूकम्प गएको थियो ।
भिडियो :-

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update