
काठमाडौं - वैशाख १२ – सन् २०१५ को विनाशकारी गोर्खा भूकम्पको दसौँ वार्षिकोत्सवको अवसरमा आज शुक्रबार नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) को नेतृत्वमा ‘भूकम्प नबिर्सौँ ’ र्याली (Forget Not Earthquake Rally) आयोजना गरिएको छ। राजधानीको विभिन्न भागबाट सुरु भएको र्यालीले जनस्तरमा अझै कायम रहेको भूकम्पीय जोखिमप्रति स्मरण गराउँदै, विपद्–पूर्व तयारी, जोखिम न्यूनीकरण र दिगो पुनर्निर्माणमा प्राविधिक समुदायको भूमिकालाई सार्वजनिक रूपमा उजागर गर्यो।
कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन (NEA), नेपलिज आर्किटेक्ट्स सोसाइटी (SONA), स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपाल (SEANep) र नेपाल जियो टेक्निकल सोसाइटी (NGS) सहित विभिन्न पेसागत संघ –संस्थाहरूको संयुक्त सहभागिता थियो। यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA), शहरी विकास तथा भवन निर्माण विभाग (DUDBC-CLPIU), ललितपुर महानगरपालिका, इन्जिनियरिङ अध्ययन संस्थान (IOE), राष्ट्रिय भूकम्प प्रविधि समाज (NSET), नेपालका इन्जिनियरिङ कलेजहरूको सङ्घ (AECON) लगायत सरकारी तथा गैरसरकारी संस्थाहरूको समेत सहकार्य रहेको थियो।
र्याली मा स्कुल तथा कलेजका विद्यार्थीहरू, स्थानीय निकायका प्रतिनिधिहरू, महिला तथा आमा समूहहरू, खेलकुद क्लब, व्यापारी सङ्घ, उद्योगी–व्यवसायी, सामाजिक तथा सांस्कृतिक संघ संस्थाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले भूकम्पीय जोखिम न्यूनीकरण र आपत् तयारीमा अझ सशक्त प्रतिबद्धता जनाउँदै, विगतका सफल प्रयासहरू, कमजोरीहरू, तथा नीति सुधारका उपलब्धिहरूको पुनरावलोकन गर्नु आवश्यक रहेकोमा जोड दिएका थिए।
र्यालीको मूल उद्देश्य गोर्खा भूकम्पपछिको आपत्कालीन प्रतिक्रिया र निजी ग्रामीण आवास पुनर्निर्माणमा इन्जिनियरहरूले पुर्याएको योगदानप्रति सम्मान प्रकट गर्नु थियो। साथै, जोखिम–सचेत पूर्वाधार विकास, सहकार्यमा आधारित नीति निर्माण र दीर्घकालीन चेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमहरूको आवश्यकतालाई स्पष्ट पारिएको थियो।
आयोजकहरूले देशभरका सबै पालिकाहरूमा ‘भूकम्प नबिर्सौँ’ जस्ता जनचेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गर्दै, यस्तो प्रयासले जनस्तरमा दीर्घकालीन जोखिमप्रति चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
“यो र्याली पीडादायक दिनको सम्झना मात्र होइन,” नेपाल जियो टेक्निकल सोसाइटीका अध्यक्ष मन्दिप सुवेदीले भने, “यो हाम्रो समाजलाई फेरि एक पटक भूकम्पीय जोखिमबारे सचेत गराउने र हामी इन्जिनियरहरूको दायित्व तथा भूमिकालाई स्मरण गराउने अवसर पनि हो। यसले हामीलाई त्यो भयावह दिन सम्झाउँछ, जुन आजभन्दा ठिक १० वर्षअगाडि, २०७२ साल वैशाख १२ गते बिहान ११:५० मा आयो — जब हाम्रो धर्ती एकाएक थरथर काम्न थाल्यो। त्यो क्षणले हाम्रा जीवनहरू एकाएक बदलियो। हामीले हजारौँ आफन्त, दाजुभाइ, दिदीबहिनी गुमायौँ। घरहरू भत्किए, मन्दिरहरू ढले, विद्यालयहरू उजाडिए, र अनगिन्ती सपना चकनाचुर भए।”