Harsamaya
वडा अध्यक्षविरुद्ध पक्राउ पूर्जी जारी, एमाले सांसदको दबाबले समातिएनन् अझै 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सिराहा - सिराहा नगरपालिका-१३ का वडाध्यक्ष सर्भेन्द्र साह विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनी अझै समातिएका छैनन् ।

राजनीतिक संरक्षकका कारण स्थानीय प्रहरीले उनलाई पक्राउ नगरेको स्थानीयको भनाइ रहेको छ । वडा अध्यक्ष साहसहित १२ जना विरुद्ध आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको महिना दिन भन्दा बढी बितिसक्दा पनि प्रहरीले पक्राउ नगरेपछि स्थानीय रुष्ट भएका छन् ।

उच्च अदालत, राजविराजको परमादेश अनुसार आपराधिक उपद्रव, आगजनी तथा लुटपाट सम्बन्धी कसुरमा उनीहरू विरुद्ध चैत १३ गते जिल्ला प्रहरी कार्यालय, सिराहामा मुद्दा दर्ता भएको थियो। मुद्दा दर्ता भएको एक महिना भन्दा पनि बढी भइसकेको छ ।

तर,प्रहरीले उनीहरूमध्ये कसैलाई पक्राउ गर्न नसकेको स्थानीय दिनेश यादवले बताए। उनले भने, ´अदालतले चैत १७ गते नै वडाध्यक्ष साहसहित १२ जना प्रकाश महतो, दुखी महतो, पञ्चलाल महतो, सोगारथ महतो, अमन महतो, राम दिनेश यादव, सतिश यादव, जीवछ महतो, सोभित महतो, खुशीलाल महतो र पाण्डव महतो विरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनीहरू अहिले पनि खुलेआम घुमिरहेका छन् ।' 

यता घटनाको अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रमुख (एसपी ) अनन्तराम शर्माले जनाए । 'म आउनुभन्दा अगाडी नै यो मुद्दा दर्ता भएको रहेछ, प्रहरीले गर्नु पर्ने काम गरिरहेको छ, अनुसन्धानसमेत हुँदैछ।´ 

वडा अध्यक्ष सहित १२ जनाको समूहले सिरहा नगरपालिका-१३, फुलबरियाका ६६ वर्षीय रामसेवक भण्डारीको घरमा २०८० पुष २२ गते गालीगलौज गर्दै लुटपाट गरेको विपक्षीको आरोप छ। आफ्नै जग्गामा तार बार लगाउन खोज्दा उनीहरूले आफूसहित घरका सदस्यलाई गाली बेइज्जती तथा दुर्व्यवहार गर्दै घरमा आगो लगाइदिएको र घरमा भएका सुनचाँदीसहितका सामान लुटपाट गरी ५० लाख रुपैयाँको क्षति पुर्‍याएको भन्दै उच्च अदालत राजविराजमा रिट निवेदन दिएका थिए।

त्यसअघि घटना लगत्तै उनी जिल्ला प्रहरी कार्यालय, सिराहामा जाहेरी दर्ता गराउन गएका थिए। तर, पटक पटक गुहार्दा पनि प्रहरीले जाहेरी दर्ता नगरी दिएपछि उनी २०८१ असार २१ मा परमादेशका लागि रिट निवेदन लिएर उच्च पुगेका हुन् । वडा अध्यक्ष सहित १२ जनालाई सिराहा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले संरक्षण गरिरहेको स्थानीयको भनाइ रहेको छ । श्रेष्ठकै दबाबका कारण प्रहरीले उनीहरूलाई पक्राउ गर्न नसकेको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update