Harsamaya
इङ्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल उपाधि नजिक
इङ्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल झनै उपाधिको नजिक पुगेको छ ।

काठमाडौं - इङ्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल झनै उपाधिको नजिक पुगेको छ ।

घरेलु मैदानमा बुधवार भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो । लिभरपुल उपाधिबाट केवल १ अंक टाढा छ ।

इमिरेट्स स्टेडियममा प्यालेसले जित निकालेको भए लिभरपुलले बल नछोईकनै आफ्नो २०औँ प्रिमियर लिग उपाधि जित्ने थियो । तर अब लिभरपुलले आइतबार टोटनहम हट्सपरसँग नहार्ने हो भने उपाधि पक्का गर्न सक्छ । प्यालेसले कुनै पनि समय अग्रता लिन सकेन । यद्यपि टोलीले जुझारु प्रदर्शन गर्याे । आर्सनलले भने दुई पटकको अग्रतालाई जोगाउन सकेन ।

तेस्रो मिनेटमा याकुब किभिओरको गोलमा आर्सनलले अग्रता लिए पनि एबेरेचि एजेले २७ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि ४२ औँ मिनेटमा लेयाण्ड्रो ट्रोसार्दको गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

८३ औँ मिनेटमा प्यालेसका परिवर्तित खेलाडी जीन–फिलिप माटेटाले बराबरी गोल गरे । आर्सनलका विलियम सालिबाको गल्तीमा माटेटाले बल पाए त्यसमा  मौका चुकाएनन् ।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update