
काठमाडौं - खानेपानी मन्त्री प्रदीप यादवले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा अब बोतल र जारको पानी बन्द गरिने बताएका छन् ।
बुधबा रसिंहदरबार भित्रमा मेलम्चीको खानेपानी वितरणका लागि विभिन्न ठाउँ एवं धारा निर्माण गर्ने क्षेत्रको स्थलगत अनुगमनपश्चात मन्त्री यादवले वर्षौदेखि सिंहदरबारमा प्रयोग गरिदैं आएको जार र बोतलको पानी अब सदाका लागि अन्त्य गरिने बताए ।
उनले भने,‘सिंहदरबारमा वर्षौदेखि प्रयोग हुँदै आएका जार, बोतलको पानी विस्थापित गर्ने लक्षअनुसार काम अगाडी बढी रहेको छ । यहाँ चाडै मेलम्चीको शुद्ध खानेपानी वितरण हुन्छ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत यहाँका मन्त्रालयहरूमा मेलम्चीको पानी वितरण गर्नका लागि मन्त्री यादव सहितको टोलीले आज अनुगमन गरेको थियो ।
यहीँ वैशाख अन्तिम सातासम्म सिंदरबारमा मेलम्चीको सफा, शुद्धपानी वितरण गरिने मन्त्री यादवले जिकिर गरे ।
उनले भने, ‘मेलम्चीको शुद्ध पानी उपलब्ध भएपछि सिंहदरबारमा हाल प्रयोग भइरहेको बोतल र जारको पानी क्रमशःविस्थापन गर्ने मेरो स्पष्ट योजना रहेको छ । शुद्धपानी सबैको पहुँचमा पुर्याउन हामी एकजुट भई अघि बढ्नुपर्छ ।’
सिंहदरबार स्वच्छ, पारदर्शी र जनमुखी प्रशासनको प्रतीक भएको र यसलाई अझ सक्षम बनाउने आफूहरूको साझा प्रयासमा साथ दिनु भएको भन्दै उनले सम्पूर्णमा आभार प्रकट गरे ।
आजको उक्त अनुगमनमा मन्त्रालयका सचिव इञ्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत अशोक कुमार पौडेल लगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो ।