Harsamaya

काठमाडौं - उपप्रधान एंव शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् ।

बुधबार मन्त्रालयमा भएको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको शहरी विकास मन्त्रालयमा सचिव गोपाल प्रसाद सिग्देलले जानकारी दिएका छन् ।

उनले भने, ‘भारतका शहरी विकास मन्त्री भ्रमणमा आउनु भएको थियो । दुई देशिय सम्बन्धको बारेमा र पारस्परिक हितको बारेमा सानो छोटो छलफल भयो । भारत र नेपालबीच शहरी विकासको सन्दर्भमा विशेष गरेर अनुभवको आदान प्रदान र सहयोगको आदानप्रदान कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भयो ।’

यस्तै, उनले भेटका क्रममा भारतका शहरी विकास मन्त्रीले भारतले शहरी विकासको क्षेत्रमा पछिल्लो समयमा हासिल गरेको प्रगति विशेष गरेर फोहोर व्यवस्थापन र शहरी यातायात व्यवस्थापनमा भारतले हासिल गरेको उपलब्धी, अनुभव आदानप्रदान गर्न सकिन्छ भन्ने धारणा राखेको र त्यसलाई प्रधानमन्त्रीले पनि सकारात्मक रुपमा लिएको बताए ।

सोही क्रममा भारत र नेपाल सरकारबीच शहरी, पूर्वाधार विकासका अवधारणा, अनुभव आदानप्रदान गर्ने र सहकार्यमा अगाडि बढ्नको लागि एउटा एमओयू तयार भएको भन्दै यसलाई अर्को भ्रमणमा हस्ताक्षर गरेर औपचारिक रुपमा अगाडि बढाउने कुरा भएको पनि उनको भनाई छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २१:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update