Harsamaya
काश्मिरमा नेपालीसहित २८ पर्यटक मार्ने आतंकवादीहरूको तस्वीर सार्वजनिक
भारतीय मिडिया दैनिक जागरणले सो हमलामा संलग्नहरूको तस्वीर सार्वजनिक गरेको छ ।

काठमाडौं - मंगलबार दिउँसो आतंकवादीहरूको एक समूहले जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूलाई आक्रमण गरेका थिए ।

जसमा तीन विदेशी पर्यटकहरू सहित २८ जनाको मृत्यु भएको थियो भने २० जना बढी घाइते भएका थिए ।

भारतीय मिडियाका अनुसार कश्मीरमा आतंकवादको नयाँ पर्याय बनेको लश्कर ए तैयबाको हिट स्क्वाड रेजिस्टेन्स फ्रन्टले सो आक्रमणको जिम्मेवारी लिएको छ।

पर्यटकीय नगरीमा भएको सो आतंकवादी हमलापछि भारतीय सरकारले आतंकवाद विरुद्ध एकजुट भएर सामना गर्ने जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो भ्रमण छोट्याएर एकदिन अगावै साउदी अरबबाट भारत फर्केका छन् ।

सो घटना लगत्तै केन्द्रीय गृहमन्त्री अमित शाहले आज पहलगाम पुगेर घटनास्थलको निरीक्षण गरेका थिए । सो आतंकवादी हमलामा नेपाली नागरिक बुटवल–११, कालिकानगर रूपन्देहीका सुदिप न्यौपानेको पनि ज्यान गएको छ । उनी आमा र बहिनीको साथमा काश्मीर घुम्न गएका थिए ।

सो घटनाका बारेमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री आरजु राणा देउवाले निन्दा गरेका छन् भने प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई फोन गरेर दुःख व्यक्त गरेका छन । र, साथ साथै ओलीले आतंकवाद विरुद्धमा भारतको साथ रहेको पनि प्रतिबद्धतासमेत जनाएका छन् ।

यसैबीच, भारतीय मिडिया दैनिक जागरणले सो हमलामा संलग्नहरूको तस्वीर सार्वजनिक गरेको छ । तर, नाम भने अझै खुलाइएको छैन ।


 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update