
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिनपनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीको अवसरमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारको जन्म नै भ्रष्टाचारीको रक्षा गर्न भएको बताएका हुन् ।
उनले भने, ‘अहिले देशमा राजनीतिक जस्तो स्थिति बनेको छ त्यस्तै चुनौती पूर्ण स्थिति बनेको छ ।अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको जो सरकार छ यसको जन्म नै अप्राकृतिक छ । अलोकतान्त्रिक छ ,अपारदर्शी छ ,असंवैधानिक छ । यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो । यो सकार अब एक दिनमापनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ, हजारौं र लाखौं शिक्षक सडकमा छन् । ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने,तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ। लाखौं शिक्षक र देशभरीका विद्यालयहरू संकटमा छन् ।’
साथै उनले सरकार शिक्षकका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरूलाई अपमानित गर्न लागेको बताए । उनले सरकारले शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर गम्भीर रुपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिए ।
उनले भने, ‘सरकारले आम शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर तुरुन्तै गम्भीर ढंगले वार्ता, संवाद गरेर हल गर्न कोसिस गरोस्, शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो । मैले धेरै मेहनत गरेर त्यो विद्येयक संसदमा पुर्याएको छु । उपसमितिमा छलफल छ। त्यसलाई छलफल गरेर टुंग्याउनेबारे शिक्षकहरूसँग किन कुरा गरिँदैन ? किन शिक्षकहरूलाई अपमानित गरिन्छ?’