
काठमाडौं - वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको बताएका छन् । ‘साथसाथै’ नामक संस्थाले खुम्बु पासाङल्हामू गाउँपालिकामा आयोजना गरेको जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न सरकारले एनडिसी–३ निर्माण गरिरहेको बताए ।
उनले भने, ‘जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको छ । जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारले राष्ट्रिय निर्धारण जारी योगदान एनडिसी ३ अहिले तेस्रो बनाइरहेका छौँ । यसले सबै असरहरूलाई न्यूनीकरण र अनुकरण गर्नेछ ।’
साथै उनले वातावरण मन्त्रालयले एनडिसी ३.० सबै निकायहरूमा छलफल गरेर अगाडि बढाइसकेको बताए । सबैको राय, सुझाव, सल्लाह लिएर करिब करिब सगरमाथा संवादको शुभारम्भको दिनमा एनडिसी ३.० प्रकाशित गर्ने तयारी गरिएको बताए ।
उनले भने, ‘अहिले वन तथा वातावरण मन्त्रालयले एनडिसी ३.० जुन बनाइरहेको छ यसमा सम्पूर्ण सबै सरोकारवाला र राय, सुझाव, सल्लाह लिएर सबै मन्त्रालयहरू र निकायहरूमा छलफल पनि अगाडि बढिसकेको छ । सगरमाथा संवादको शुभारम्भको दिनमा प्रकाशित गर्ने तयारी गरेका छौँ ।’