
काठमाडौं - पूर्व संस्कृति पर्यटन तथा उड्ड्यनन मन्त्री तथा माओवादी केन्द्रका नेता सुदन किरातीले धरानमा विमानस्थल बनाउन चाहेको बताएका छन् । आफूले विमानस्थलबनाउन चाहेपनि भावनाले मात्रै नहुने उनले बताएका छन् ।
सामाजिक सञ्जालमा मंगलबार लेख्दै किरातीले सार्वजनिक पद धारण गरेको व्यक्तिले कानुन बमोजिम काम गर्नुपर्ने र यदि कानुन विपरीत कसैले काम गर्छ भने त्यो भ्रष्टाचार हुने उल्लेख गरेका छन्। उनले ठूला परियोजना सुरु गरेर जनतालाई ऋणको भारी बोकाउन नचाहेको बताएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो अगाडी आज पोखरा विमानस्थल चर्चाको शिखरमा छ । कति-कति खानलाई, कस-कसले खानलाई, त्यो विमानस्थल निर्माण भयो ? जे-जति खाए वा खाएनन् त्यो छानबिनले प्रमाणित गर्ला, अनुभवले देखाउँछ खानेहरु समाजमा महान् छन्, खुवाउनेहरु सबै गधा भए । अर्थात् ठूला माछाहरु यतिबेला समुन्द्रमा खेल्दैछन्, खुवाउने साना माछाहरु तेलमा फ्राई हुन लागेका छन् । मैले फ्राई हुनु थिएन । जेल जानु थिएन । देशको सम्पत्ति दुरपयोग गर्नु थिएन । जनतालाई ऋणको भारी बोकाउनु थिएन ।’
उनले धरानमा विमानस्थल बनाउनु नसकेकोमा असाध्य दुखी भएको समेत बताएका छन् । ‘चुनावी नारा बनाएर जनतालाई मुर्गा बनाउने खेलको मैले सदाका लागी अन्त्य गर्न सकेको छु उनले लेखेका छन् ।’ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन भन्दै किराती पर्यटन मन्त्री हुँदा प्रस्ताव ल्याएका थिए ।
<>