Harsamaya
साथीले मानसिक यातना दिएको भन्दै युवकले गरे आत्महत्या
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बारा - बाराको कलैया उपमहानगरपालिका- १४ बघवन घर भएका एक युवाले आत्महत्या गरेका छन् ।

श्याम प्रसाद महत्तोका २२ वर्षीय छोरा नितेश कुमार महत्तोले आफूलाई साथीहरूले यातना दिएको भन्दै आत्महत्या गरेका हुन् ।

उनले आफ्नै घरमा पासो लगाई आत्महत्या गरेको बारा प्रहरीले जनाएको छ । उनको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।

पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र घटनाको विषयमा थप केही भन्न सकिने प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा कलेजका साथीले मानसिक यातना दिँदा आत्महत्या गरेको देखिएको बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।

आत्महत्या गर्नुपूर्व महत्तोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरी कलेजका साथीले मानसिक दबाव दिएको भन्दै आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update