Harsamaya
धम्मावती गुरुआमालाई म्यानमार सरकारले प्रदान गर्यो अन्तर्राष्ट्रिय सम्मान
काठमाडौंको धर्मकीर्ति विहारकी संस्थापक बौद्ध गुरुआमा भिक्षुणी धम्मावती

काठमाडौं - काठमाडौंको धर्मकीर्ति विहारकी संस्थापक बौद्ध गुरुआमा भिक्षुणी धम्मावती(गणेशकुमारी शाक्य)लाई म्यानमार सरकारले सम्मान गरेको छ । 

बौद्ध विद्धान गुरुआमालाई म्यानमार सरकारबाट ‘महा सद्धाम्मजोतिलाधजा उपाधि’ प्रदान गरिएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उनलाई उक्त उपाधि प्रदान गरिएको छ । 

कार्यक्रममा धम्मावतीले आफूलाई उपाधिकालागि म्यानमार सरकारले निम्ता गरेको भएपनि स्वास्थ्य अवस्थामा कारण कारण आफू जान नसकेको बताइन् । म्यानमार सरकारले राजदूतमार्फत उक्त उपाधि प्रदान गरेको उनले जानकारी दिइन् । 

‘मलाई म्यानमार सरकारले उतै बोलाएको थियो । तर आउन सक्दिन भनेर उत्तर दिएकी थिए । ९२ वर्षका भइसकें, हिँडडुल गर्न कठिन भइसक्यो भनेको थिए । त्यसपछि त्यहाँको सरकारले राजदुतमार्फत महा सद्धाम्मजोतिलाधजा उपाधि दिएको हो’उनले भनिन्  ।

त्यस्तै उनले ९१ वर्षको जीवनको लामो यात्रामा धेरै उतारचढावहरू भोग्नुपरेको अनुभव समेत सुनाइन् । साथै उनले भगवान बुद्धको उपदेश सुनेर आफ्नो जीवनमा राम्रोसँग अभ्यास गरेर सुखको र दुखको पनि स्वीकार गरी मनको सुद्ध गर्न सक्नुपर्ने धारणा राखिन् ।

सोही अवसरमा राष्ट्रिय सभा सदस्य डा.अन्जान शाक्यले धम्मावती गुरुआमाले म्यानमारबाट बुद्ध दर्शन अध्ययन गरी नेपालमा ठूलो योगदान दिएकाले म्यानमारले सम्मान गरेको बताइन् ।

‘उहाँले बुद्ध दर्शनमार्फत मानिसहरूको दुःख कम गराउन खेल्नुभएको भूमिका उल्लेख्य छ । नेपालमा गुरुआमाहरूको संघनै स्थापना गर्नुभयो र सोही कामको कदर गर्दै म्यानमार सरकारले अन्तर्राष्ट्रिय स्तरकै उच्च सम्मान दिएको छ । यो सम्मान नेपालको सम्मान हो,’ उनले भनिन् ।

राणाहरूको कठोर शासनकालमा शिक्षा आर्जन गर्न तथा बुद्ध धर्मको बारेमा ज्ञान हासिल गर्ने उद्देश्यले विसं २००६ सालमा बर्माको राजधानी रंगुन पुगेर धम्मावती ले शिक्षा आर्जन गरेकी थिइन् । म्यानमारकी नेत्री आङ सान सु चीले धम्मावतीसँगै बौद्ध धर्मको ज्ञान समेत लिएकी थिइन् । 


 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update