
जनकपुर - विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ वटै जिल्लाका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।
उनीहरू आन्दोलनमा रहेको बेला वैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने की नहुने भन्ने विषयले विद्यार्थी र अभिभावकहरू अन्योलमा परेका छन् ।
जनकपुरधामस्थित राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रमुख दयाराम राईका अनुसार केन्द्रीय कार्यालयबाट प्राप्त निर्देशन अनुसार परीक्षा निर्धारित समयमै हुनेगरी काम भइरहेको छ ।
उत्तरपुस्तिकलगायत परीक्षा सामग्रीहरू सम्पूर्ण परीक्षा केन्द्रहरूमा पुगिसकेको र विद्यार्थीहरूको प्रवेश पत्र वितरण हुने कार्य अहिले जारी रहेको कार्यालय प्रमुख राईले जानकारी दिए ।
केन्द्रीय कार्यालयबाट परीक्षा स्थगित भएको भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएकाले आफूहरूले परीक्षा तोकिएकै दिन र समयमा गर्नेगरी तयारी पूरा गरेको बताए । उनले विद्यार्थीहरूलाई पनि तोकिएकै समयमा परीक्षा लिइने भन्दै त्यस बमोजिम तयारी गर्न आग्रह गरे ।
यता, जनकपुरधामस्थित ऐतिहासिक ज्ञानकुप विद्यालयका प्रधानाध्यापक संजय कुमार झाले परीक्षा बोर्डले तोकिएकै समयमा परीक्षा सञ्चालन हुनेगरी तयारी गरेपनि शिक्षक महासंघको निर्णय अनुसार आफूहरूको माग सरकारले पूरा नगरेसम्म कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने बताएका छन् ।
परीक्षा बोर्डले अभिमुखीकरण कार्यक्रमका लागि बोलाएतापनि आफूहरू नगएको उनले जानकारी दिए । सरकारले शिक्षकहरूको माग सम्बोधन गरे ७२ घण्टाभित्र परीक्षा संचालनको तयारी पूरा हुने उनको भनाई छ । परीक्षा समयमा नहुँदा विद्यार्थीहरूमा पर्ने असुविधाको सम्पूर्ण जिम्मेवार नेपाल सरकार हुने उनले बताए ।
चुनावका बेला हरेक राजनीतिक दलहरूले शिक्षाको विषयलाई आफ्नो एजेन्डा बनाउने तर चुनाव जितिसकेपछि शिक्षालाई प्राथमिकता नदिने गरेको प्रधानाध्यापक झाको आरोप छ ।
तीन तहको सरकार आएतापनि कुन तहको काम के हो भन्ने अन्यौलताका कारण विद्यालय सञ्चालन गर्नै गाह्रो भएको उनको भनाई छ । उनले परीक्षा केही दिन सर्न सक्ने संकेत गरेका छन् ।