Harsamaya
गुडिरहेको जीपमा बिजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु, मुख्यमन्त्रीद्धारा दुःख व्यक्त
 पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको मृत्यु ।

इटहरी - पाथीभरा दर्शनका लागि तीर्थयात्री जाँदै गरेको जीपमा करेन्ट लागेर आगलागी हुँदा चालक सहित ४ जनाको ज्यान गएको छ । फुङलिङ नगरपालिका १० शेवारो चौकमा मे १ च ३०११ नंवरको गुडिरहेको जीपमा विजुलिको तार खसेर करेन्ट लागी ४ जनाको ज्यान गएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता भिमबहादुर दाहालका अनुसार दुर्घटनामा जिप चालक फुङलिङ घर भएका गाडी चालक दुर्गा भट्टराई, ललितपुर घर भएकी आध्या आचार्य, झापा भद्रपुरका विनोद पौडेल र सरिता पौडेलको ज्यान गएको हो ।

आगोले जलेर सविना आचार्य गम्भीर घाइते भएको र उनका छोरा अभियव सामान्य घाइते भएका छन् । ज्यान गुमाउने आध्या सविनाकै छोरी हुन् भने विनोद र सरिता श्रीमान श्रीमति (अभियवका मावली हजुरवुवा हजुरआमा) हुन् ।

यसैबीच कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनामा घाइते भएकाहरूको थप उपचारको लागि काठमाडौं लैजाने प्रयत्न भइरहेको बताउँदै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईंटेलले जनाएका छन् ।

यसैगरी धनकुटामा ईभी गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत धनकुटाको पाख्रीबास नगरपालिका–५ देवीथानमा इटहरीतर्फ आउँदै गरेको गाडी दुर्घटना हुँदा एकको अवस्था गम्भीर रहेको ट्राफिक कन्ट्रोल इटहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update