Harsamaya
आजदेखि ट्रेड टावरको आइपिओ निष्कासन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं -  ट्रेड टावर लिमिटेडले आजदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमाति पाएको छ ।

यस कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम् १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आइपिओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यसैगरी कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्नेछ । उक्त रकममध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपिओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बहाल रहनेछ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update