
ताप्लेजुङ - पाथीभरा दर्शनका लागि जाँदै गरेको बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालका अनुसार फुङलिङ नगरपालिका-१० स्थित सडक खण्डमा बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु भएको हो । घटनामा दुई जना घाइते रहेका छन् ।
एसएसपी दाहालका अनुसार ललितपुरको ललितपुर महानगरपालिका-१० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ । उनीहरुलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।
कसरी गाडीमा बिजुलीको तार खस्यो भन्ने कुराको अनुसन्धान भइरहेको एसएसपी दाहालले बताए ।