Harsamaya
असिना पानीले पाँच करोडको ईंट्टा भिजेर नष्ट
रौतहटमा बेमौसमी बर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंटा गलेर क्षति ।

रौतहट - रौतहटमा बेमौसमी बर्षाका कारण पोल्नको लागि तयार पारिएको काँचो ईंटा गलेर पाँच करोड भन्दा बढीको क्षति भएको छ । वर्षभरी बेच्नका लागि तयार भइरहेको ईंट्टा वैशाख १ को हावाहुरी र असिना पानीले नष्ट गरेपछि ईंट्टा व्यवसायीहरु आर्थिक समस्यामा परेका हुन् । 

हावाहुरी र असिना सहितको पानीले गर्दा आफनो ईंट्टा भट्टामा मात्रै पोल्नका लागि तयार पारिएको ईंट्टा भिजेर नष्ट भएको बृन्दावन नगरपालिका ३ स्थित कृष्णा ईंटा उद्योगका सञ्चालक प्रेम शंकर यादवले बताए ।

उनले मजदुरहरूले बनाएर राखेको ईंटाहरु बेमौसमी परेको पानीले भिजेर पूर्ण रुपमा नष्ट भएको बताए । अहिले ईंटा नष्ट भएसँगै कोइला पनि पाउन मुस्किल भएको उनको गुनासो छ । प्रत्येक बर्ष हिउँदे बर्षाका कारण ईंट्टामा क्षति पुग्ने गरेको व्यवसायीहरू बताउँछन् । 

रौतहट ईंटा उद्योग व्यवसायी संघका सचिव मोहन साहले बेमौसमी पानीले गर्दा ईंटा नष्ट भएपछि व्यवसायी मर्कामा परेको बताए  । उनका अनुसार विविध कारण ईंटा उद्योग बन्द भएको अवस्थामा बर्षले थप क्षति गरेपछि निकै समस्या भएको हो । 

ईंटा व्यवसायीको समस्या वा मर्कामा बारेमा तिनै तहका सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ । रौतहट जिल्लाभरिमा यस आर्थिक वर्षमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता रहेका लगभग ४२ वटा ईंटाभट्टाहरु सञ्चालनमा रहेका संघले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update