
काठमाडौं - राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूलाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनु आपत्तिजनक र दुर्भाग्यपूर्ण भएको ठहर गरेको छ ।
नेताहरु पक्राउ पछि बसेको आकस्मिक बैठकले सरकारको रवैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
उनले भने, ‘अध्यक्ष र नेताहरू पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ। यसको सर्वत्र विरोध गरिनुपर्छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रम स्थलतर्फ जाँदै गर्दा गिरफ्तार हुनु भएका अध्यक्ष र सबै नेताहरूको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ । संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्तढंगबाट विरोध र प्रतिवाद गर्नेछ। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ ।’
साथै राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दाका पक्षमा अझ दृढ रूपमा अघि बढ्ने बैठकले निष्कर्ष निकालेको छ ।
चैत १५ गतेको तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्ने र बन्दी बनाइएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा.धवलशमसेर राणालगायत सबै, नेता, कार्यकर्ताहरूको रिहाइको राप्रपाले माग गरेको छ ।
आज अध्यक्ष लिङ्देनसहित वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि आज पक्राउ परेको उनले बताए। उनीहरूको पनि तत्काल रिहा गर्न बैठकले माग गरेको छ ।