
महोत्तरी - विद्युत प्राधिकरणका निवर्तमान निर्देशक कुलमान घिसिङलाई सरकारले प्रतिशोधपूर्ण ढंगले हटाएको भन्दै महोत्तरीको बर्दिवासमा नागरिक समाजले खबरदारी र्याली गरेका छन् ।
सरकारले लोडसेडिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले घिसिङलाई हटाएको भन्दै बेथितिकाविरुद्ध सबै जना एकजुट हुनुपर्ने आव्हान सहितको खबरदारी र्याली गरेका हुन् । बर्दिवास उद्योग वाणिज्य संघ, जनजाति महासंघ लगायतका संस्थाहरूको आयोजनामा बर्दिवास शहरको पश्चिमतर्फबाट प्रारम्भ भएको र्याली बजार परिक्रमपछि कोणसभामा परिणत गरिएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खडकाले सरकारको पक्ष-विपक्ष भन्दा पनि बेथितिका विरुद्ध खबरदारी भएको धारणा राखे कुलमानलाई हटाएदेखि अघोषित लोड सेडिङ भएको जिकिर गर्दै जनप्रतिनिधिहरूले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाए ।
त्यस्तै होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले षडयन्त्रपुर्ण ढंगले लोडसेडिङ हुनेतर्फ उन्मुख भएकोप्रति आक्रोश व्यक्त गरेका छन् । ‘व्यावसायी र सर्वसाधारण हीत विपरीत सरकारका निर्णयहरू गलत दिशातर्फ अगाडि बढेका छन्’ अध्यक्ष कार्कीले भने, ‘खबरदारी गरेर सरकारका गलत निर्णयहरूका विरुद्ध एकजुट हुनुपर्छ जुन जनहित विपरीत छन् ।’
जनजाति माहासंघ महोत्तरीका अध्यक्ष धननारायण श्रेष्ठले पनि सरकार जनपक्षीय बन्न नसकेको प्रतिआक्रोश व्यक्तसमेत गरेका छन् । पार्टीको झोला फ्याँकेर हाम्रा भन्दा पनि राम्रालाई साथ दिनुपर्ने बताउँदै अन्यायको विरुद्ध पार्टीभन्दा माथि उठनुपर्ने अध्यक्ष श्रेष्ठले जिकिर गरे ।