Harsamaya
काँग्रेस र एमालेबीचको सम्बन्धमा कुनै समस्या छैन : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखक ।

पोखरा - गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली काँग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा  उनले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पारेका हुन् ।

सरकार सहमतिका साथ नै अघि बढिरहेको भन्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ ।’

पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उनले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पारे ।

लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यम माथि हुने गरेको हामीले विगतमा भोगिसकेको उल्लेख गरे ।

अघिल्लो पुस्तका साथै वर्तमान पुस्ताको अथक प्रयासबाट वर्तमान संविधान बनेको उल्लेख गर्दै उनले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताए ।

नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उनले वर्तमान संविधानलाई पनि अन्त्य गरी मुलुकलाई पुन अँध्यारोतर्फ धकेल्न नदिइने उल्लेख गरे ।

लोकतन्त्रमा कमीकमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उनले यसमा नागरिक सर्वोपरि हुने स्पष्ट पारे । संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रबृत्तिलाई राजनीतिक रुपमा जवाफ दिनुका साथै कानुन बमोजिम पनि अघि बढीने उनको भनाइ छ ।

आमाको नाममा नागरिकता प्रदान गर्ने सम्बन्धमा विधेयक अघि बढाइ सकिएको बताउँदै उनले यो समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे ।

आफू गृह मन्त्रालयको जिम्मेवारी सम्हाले यताको नौ महिनाको अवधिमा कानुनी एवम् नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनेतर्फ लागेको उनले जानकारी दिए ।    
आवश्यक विभिन्न कानुनहरू संसदमा प्रस्तुत हुने गरी तयारी भएको उनले जानकारी दिए । अपराध नियन्त्रण, लागू औषध, आत्महत्या, साइबर अपराध जस्ता विभिन्न चुनौतीको सामना गर्ने कुरामा सरकार दृढ रुपमा अघि बढेको उनले जानकारी दिए ।

गभर्नर नियुक्ति लगायतका विषयमा समस्या नरहेको भन्दै उनले सही व्यक्तिलाई सही स्थानमा ल्याइने बताए । शिक्षकका मागलाई सम्बोधन गर्ने सम्बन्धमा सरकार प्रतिबद्ध भएको उनको भनाइ छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update