Harsamaya
कविता : मन
ग्राफिक्स : हर समय/Har Samaya

मलाई तिम्रो जस्तै बनाइदेउन मन
मनलाग्दा सम्झने,
नत्र छिनमै भुलिदिने बनाइदेउन मन
पर्खाइको निसाफ दौडनेले कहाँ गर्छ र यहाँ
तिमीसँगै छु भनेर,
अन्त कतै भुल्दिने बनाइदेउन मन

तिम्रो कहिल्यै यादै नआउने बनाइदेउन मन
मान्छे हुँ तर मूर्ति जस्तै कठोर बनाइदेउन मन
सम्झनेले आँसु पिएर बाँचेको कसले देख्छ र यहाँ
देखेर पनि नदेखेजस्तो गर्ने बनाइदेउन मन

पहाडको चट्टानजस्तै बनाइदेउन मन
घनले ठोक्दा टुक्रिने तर,नदुख्ने बनाइदेउन मन
चोट दिन्छन् मनमै डेरा जमाएर यहाँ
अचानोमा राखेर काट्दा नि नरुने बनाइदेउन मन

पानी जस्तै बग्ने बनाइदेउन मन
दायाँबायाँ भड्कन नदिइ सागर चुम्ने बनाइदेउन मन
किनारामा ठोक्काएर अलपत्र पार्ने धेरै छन् यहाँ
तिम्रो जस्तै निष्ठुर मुटु बनाइदेउन मन

बाटो हिँडेपछि नरोकिने बनाइदेउन मन
आँसुले छेकेपनि नफर्कने बनाइदेउन मन
कसले बुझ्छ र यहाँ एउटा फूलको वेदना
फूल रोएको देख्दा पनि हाँस्ने बनाइदेउन मन

कोही कुर्छ भनेर नसम्झने बनाइदेउन मन
कुराईको पीडा नै महसुस नहुने बनाइदेउन मन
अघि बढ्नेलाई के फरक पर्छ र यहाँ
भावनालाई कुल्चिएरै दौडने बनाइदेउन मन

समयलाई नै भुल्ने बनाइदेउन मन
जुन फूल देख्यो त्यहीँ झुल्ने बनाइदेउन मन
म त दूबो झैं माया गर्ने परे
फूल फक्रिँदा मात्रै माया लाग्ने
नत्र, माया नै मर्ने बनाइदेउन मन ।

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update