Harsamaya
शिक्षक महासंघले प्रधानमन्त्री र सभामुखसँग गरेको छलफल निष्कर्षविहीन,  आन्दोलन जारी राख्ने 
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - नेपाल शिक्षक महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । महासंघको प्रतिनिधिमण्डलको शुक्रबार राति ९ बजे प्रधानमन्त्री ओलीसँग भेटघाट तथा छलफल भएको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले जानकारी दिए ।

करिब २ घण्टा चलेको छलफलमा महासंघको तर्फबाट चालु आन्दोलन, शिक्षक–कर्मचारीका माग मुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा आफ्ना धारणा प्रष्ट पारेको उनले बताए । प्रधानमन्त्रीले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गरेको उनले जनाए । 

त्यस्तै हिजो राती ११:३० मा  महासंघको टोलीले सभामुख देवराज घिमिरेसँग पनि भेटवार्ता गरेको थियो ।  उनीसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भएको सुवेदीले बताए ।भेट तथा छलफलमा महासंघका तर्फबाट अध्यक्ष सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव अर्थ मदनराज जोशी सहभागी थिए । 

सरकारसँग छलफल भएपनि आजको आन्दोलन जारी रहने उनले बताए । शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै चैत २० देखि आन्दोलनमा छन् । उनीहरू कुनै हालतमा शिक्षा ऐन जारी नभएसम्म घर नजाने अडानमा छन् ।

यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक–पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन । शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरूलाई एकद्वार प्रणाली अनुरूप गर्नुपर्ने लगायत माग छन् । 

आन्दोलनका कारण सडकमा सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ । शिक्षकहरुले आन्दोलनका क्रममा नृत्य, जादू, गीत, कविता जस्ता मनोरन्जनात्मक कार्यक्रम देखाइरहेका छन् । 

<>

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update