
काठमाडौं - वैशाख ११ गतेबाट संचालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षा स्थगित गरिएको भ्रामक सूचनाप्रति राष्ट्रिय परीक्षा बोर्डले ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डले विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
शुक्रबार बोर्डले विज्ञप्ति जारी गर्दै विद्यार्थीवर्गमा भ्रम सिर्जना हुनेगरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना संप्रेषण गरिएको भन्दै परीक्षासम्बन्धी आधिकारिक सूचना बोर्डले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको र आगामी दिनमा समेत सो मार्फत सूचना प्रवाह गरिने हुँदा अन्य स्रोतवाट प्रबाह हुने सूचनामा भर नपर्न सरोकारवालालाई आग्रह गरेको छ ।
परीक्षा जस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने उपर साइबर कानुन अनुसार आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिन पनि सम्पूर्ण विद्यार्थीहरूलाई अनुरोध गरेका छ ।