
रौतहट - एक विवाहित युवतीको शंकास्पद मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटले किटानी जाहेरी लिन आनाकानी गरेको पीडित पक्षले बताएको छ ।
बिहे गरेर दिए कि आफ्नी छोरीको शंकास्पद मृत्यु भएको भन्दै पीडितका बाबुले जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिन जाँदा प्रहरीले लिन नमानेको बताएका छन् ।
पीडित परिवारले शुक्रबार जिल्लाको गरुडामा पत्रकार सम्मेलन गरेर आफ्नी छोरी अल्का ठाकुरको शंकास्पद मृत्यु भएको र प्रहरीले जाहेरी समेत लिन नमानेको बताएका छन् । मृतक अल्का ठाकुरका बाबु रौतहटको गढीमाइ नगरपालिका ४ का रामकिशोर ठाकुरले आफ्नी छोरीको मृत्यु नै शंकास्पद भएको र प्रहरीले जाहेरी लिन नमानेर पीडकसँग मिलेको आरोप लगाएका छन् ।
ठाकुरले २०७६ जेठ ५ मा छोरी अल्का ठाकुरको बिहे दुर्गा भगवती गाउँपालिका ३ मत्सरीका प्रेमनारायण झाको छारा संजीव झासित गरेका थिए । हुन त जेठो छोरासित बिहेको कुरो छिनिएको थियो तर बिहेको कुरो छिनिएको भोलिपल्ट नै जेठो छोराको स्थानीय एक युवतीसित प्रेम बसेको र तीनै प्रेमीकासँग भागेपछि झाका कान्छा छोरासँग अल्काको विवाह भएको थियो । केही दिनमै सबै ठीकठाक पारी बिहे भयो । कुनै तिलक र दहेज नलिने कुरो भए पनि बिहेमा साढे २२ लाख रुपैयाँ खर्च भएको ठाकुरको दाबी छ । केटो जापानमा इन्जिनियर रहेको बुझिएकोले दिल खोलेर खर्च गर्न कुनै दुबिधा भएन । केही महिनापछि ज्वाइँले गाडी किन्छु भनेपछि साढे तीन लाख रुपैयाँ पनि कोजाग्रत पूर्णिमाको दिन ज्वाइँको हातमा थमाएको ठाकुरको भनाइ छ ।
बिहे भएको करिब ६ वर्षमा विवाह दर्ता समेत नगराएको र ज्वाइँ जापानमा बस्दा खासै राम्रो सम्बन्ध नहुँदा छोरीले एउटा इन्स्योरेन्स कम्पनीमा काम गरेर जीविका चलाउन थालेकी थिइन् । घरबाट अपहेलित भए पनि घरपरिवारमा मिलेर बस्ने र सबैलाई सहयोग गर्ने छोरी अल्का ठाकुरको बानी भएको कारण गत वर्षमात्र छोरीले ज्वाइँलाई ७ लाख रुपैयाँ दिएकी थिइन् । तर सबैतिर अपहेलनाको शिकार हुँदै जाँदा छोरी अल्का ठाकुर डिप्रेसनको शिकार पनि बन्न पुगिन् ।
अल्काका भाइ मनमोहन ठाकुरले पत्रकार सम्मेलनमा भने, 'डिप्रेसन पनि पूर्णतया ठीक भइसकेको चिकित्सकको सम्पूर्ण रिपोर्टले बताउँछ । दिदीले औषधि सेवन पनि छोडिसक्नु भएको थियो ।'
गत वैसाख १ गते घरमा सबैले पूजापाठ गर्दै खुसीयाली मनाइरहेको बेला ज्वाइँले गरेको फोनबाट झस्केका ठाकुरले गौर नगरपालिकाको सिसवा गाउँमा रहेको आफन्तलाई तुरुन्त फोन गरेर घटनाबारे बुझ्न पठाउँदा छोरी अलका ठाकुर घरको पंखामा झुन्डिएर मरेको अवस्थामा रहेको र प्रहरी तथा आफन्तले सबैतिरबाट घेरेको देख्दा उनी बेहोस भएका थिए ।
प्रहरीले घटनास्थल मुचुल्का उठाई पोस्टमार्टमको लागि अस्पताल पठाउन लाग्दा ठाकुर परिवारले गौरमा पोस्टमार्टम नगरी काठमाडौंमा नै गर्ने अडान लिएपछि बाध्य भएर प्रहरीले मृतक अल्का ठाकुरको भाइ मनमोहन ठाकुरको साथमा शव काठमाडौं पठाएको थियो ।
काठमाडौंमा मृतकको शव बुझ्ने पनि भाइ मनमोहन नै हुन् । मृतकको शव रौतहट ल्याएपछि तीन ट्रक प्रहरीले घेरा हाली बलजफती मत्सरीका आफन्तलाई बुझाएको आरोप ठाकुरको छ । रौतहटको गरुडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै मृतक ठाकुरका पिता रामकिशोर ठाकुर र आमा अनिता कुमारी ठाकुरले भक्कानिदैं भने, 'अस्पतालमा लास बुझ्ने मेरो छोरोलाई सद्गति गर्न नदिई प्रहरीले शव खोसेर मत्सरीका मानिसलाई बुझाए ।' शव माइती पक्षले लान्छु भन्दा उल्टै लाठी चार्ज गरेको गुनासो गरे ।
झा परिवारले बिहे भएको ६ वर्षसम्म छोरीको विवाह दर्ता गराएको थिएन । सोही परिवारसित मिलेर प्रहरीले हामीमाथि अत्याचार गर्यो पीडितका बाबु ठाकुरले सुनाए । छोरीको मृत्यु भएको अवस्थाको फोटोसमेत खिच्न नदिएको आरोप ठाकुरको छ । झा परिवारले मिलेर हत्या गरी झुन्ड्याएको ठाकुरको परिवारको गुनासो छ ।
अहिलेसम्म प्रहरीले हाम्रो निवेदन पनि लिन मानेको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी नलिने प्रहरीको भनाइ रहेको छ”। जिल्ला प्रहरी कार्यालय रौतहटको मुद्दा फाँटका प्रहरी निरीक्षक उमाशंकर गुप्ताले पोस्टमार्टमको रिपोर्ट आएपछि दर्ता हुने बताउँदै घटनाबारे प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताएका छन् ।