Harsamaya

Sapanima--1736248862.png
काठमाडौं – बहु प्रतीक्षित चलचित्र “मिसिङ: केटी हराएको सूचना” को पहिलो गीत “सपनीमा” सार्वजनिक गरिएको छ । त्रि-सिटी पिक्चर्सको प्रस्तुति रहेको यस चलचित्रमा चर्चित कलाकार नाजिर हुसेन र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ । हुसेनले चलचित्र क्षेत्रमा प्रवेश गर्नु अगाडि रंगकर्मीको रूपमा चर्चा कमाईसकेका छन् ।

कुल ६ मिनेट ४५ सेकेन्डको यो गीतमा दुई कलाकारलाई मात्र देख्न सकिन्छ । झन्डै ३० सेकेन्डको कुराकानीपश्चात गीत सुरु हुन्छ । शीर्षक जस्तै गीत केटाले देखेका सपनामा आधारित छ । गीत हेरी रहँदा कता-कता गीत र कलाकार एक हुन् नसकेको हो कि भन्ने भान हुन्छ । 

निर्देशकको हतार हो कि कलाकारमा काम निखारको कमी हो यो सोच्न पर्ने विषय रहेको छ । उक्त गीतमा चर्चित गायक-गायिका इन्दिरा जोशी र करण परियारको स्वर रहेको छ। गीतको शब्द र संगीत करुण थापाले सिर्जना गरेका हुन् भने फणिन्द्र राईको संगीत संयोजन रहेको छ। गीतको रेकर्डिङ दिल समर्पण र राजा बाबुले गरेका छन् भने मिक्सिङको जिम्मा प्रकाश मिश्र ले सम्हालेका छन्।

गीतको भिडियोलाई ख्यातिप्राप्त कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले निर्देशन गरेका छन्। टाइगर तामाङ र प्रविना श्रेष्ठले सह-नृत्य निर्देशकको भूमिका निभाएका छन्। हुन त दुई जना मात्र नाच्नु र कोरस साथ नाच्नुमा धेरै अन्तर हुन्छ तर उक्त गीतमा तालमेल भने खासै देखिएको छैन । 

झट्ट हेर्दा फिल्मको म्युजिक भिडियो र साधारण भिडियोमा खासै फरक छैन । यही वर्ष निकै चर्चा कमाएका फिल्म छक्का पन्जा ५ र १२ गाउँ आदि म्युजिक भिडियोकै कारण निकै चर्चा बटुल्न सफल भए । 

भिडियोको छायांकन मन कृष्ण महर्जनले गरेका छन् । चलचित्र “मिसिङ: केटी हराएको सूचना” ले एउटा गहन सामाजिक मुद्दालाई स्पर्श गर्ने अपेक्षा गरिएको छ, जसलाई निर्देशक दीपेन्द्र गौचनले पर्दामा उतार्ने प्रयास गरेका छन्। ट्रेलर हेर्दा र म्युजिक भिडियो हेर्दा आशा निराशातर्फ परिणत भएको छ । सुरुमा केटाले केटीलाई 'डाइलोग' दिँदै भनेका चिज खासै भिडियोमा बिब्बात्मक रुपमा देख्न भने सकिएन । ठूलो फूलबारी होस् भनेको ठाउँमा सयपत्री बाहेकका फूल देख्न सकिएन, गीत भने बारीको पाटामै घुमेको देखिन्छ । ठूलो आँपको रुख पनि कतै देखिएको छैन । तर किताब पढ्दै सुनाउँछु भनेको चिज चाहिँ भिडियोको अन्तिम पाटोमा अलिकति देख्न सकिन्छ । 

कता-कता काल्पनिकमा देखाउन पर्ने रोमान्स पनि निकै अकाल्पनिक रूपमा देखिएको छ । गीत अनुसारको भिडियोका लागि लोकेसन भने प्रयोग गरिएको छैन । ठूलो बगैँचा भन्दै धान काटे पछिको टुसा उम्रिएको खेतमा गीत नमज्जाले सकिन्छ । आर्ट पनि कुनै बेला धपक्कै र कुनै ठाउँमा शून्य देखिएको छ । दिन र रात मिलाएर भिडियो पनि लिएको छ तर फिल्मको गाना र त्यही माथि काल्पनिक गीतमा प्रस्तुति भने कमजोर देखियो । कता कता निर्देशकले उत्कृष्ट कलाकार र क्यामेराको प्रयोग गर्न नसकेको देखियो । लिइएको दृश्यहरू पनि लामो लामो देखिएको छ । कतै अझै क्लोज सट आवश्यक भएको देख्दा पनि सुधार भने गरिएको छैन ।

माघ ११ मा प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रको गीतले दर्शकहरूमा दुबिधा उत्पन्न गरेको छ । प्रस्तुति जस्तो भएपनि गीत भने राम्रो छ । गीतमा सञ्जीव बराइलीले रिदम र बास गितार सम्हालेका छन् भने कुमार महर्जन र भुवन गन्धर्वको तबला, ढोलक र मादलको धुनले नेपालीपन झल्काएको छ। हेमन्त कान्छा रसाइलीको सारंगी र गोपाल देवको बाँसुरीले गीतलाई थप भावनात्मक बनाएको छ।
 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update