Harsamaya
 मकवानपुरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु 
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - मकवानपुरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।  

इलाका प्रहरी कार्यालय मकवानपुरगढीका अनुसार मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार बिहान १ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौँडा अस्पतालमा मृत्यु भएको चिकित्सकले बताएका छन् । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुसी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको थियो ।

दुर्घटनामा घाइते भएका १० जनाको हेटौँडा अस्पताल र अन्यको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update