Harsamaya
बजेटबारे पूर्व अर्थमन्त्रीहरूसँग परामर्श
पूर्व अर्थमन्त्रीहरूले कार्यान्वयन योग्य र यथार्थ परक बजेट ल्याउन सुझाव दिएका छन्  ।  

काठमाडौं - पूर्व अर्थमन्त्रीहरूले कार्यान्वयन योग्य र यथार्थ परक बजेट ल्याउन सुझाव दिएका छन्  ।  

अर्थ मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी परामर्शमा पूर्व अर्थमन्त्रीहरूले लोकप्रिय र नारामा केन्द्रित नभइ व्यवहारिक बजेट ल्याउन सुझाव दिएका हुन् । त्यसैगरी उनीहरूले  बजेटलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्न पनि सुझाव दिए । 

पूर्व अर्थमन्त्रीहरूले धेरै आयोजनाहरू प्रस्ताव गर्ने भन्दा ठूला, प्रतिफलयुक्त र कार्यान्वयन योग्य आयोजनामा प्राथमिकता दिनुपर्नेमा जोड दिए । त्यस्तै स्वास्थ्य, शिक्षा र आय आर्जनका कार्यक्रमलाई प्राथमिकता दिन पनि सुझाव दिएका छन् । 

पूर्व प्रधानमन्त्री एवं अर्थमन्त्री डा. बाबुराम भट्टराईले वैचारिक र नीतिगत स्पष्टता सहित कार्यान्वयन योग्य बजेटलाई प्राथमिकता दिनु पर्ने बताए ।  पर्याप्त साधन स्रोत नभइकन राज्यले सबै कुरा गर्न खोज्दा समस्या आएको उल्लेख गर्दै पूर्व अर्थमन्त्री डा.भट्टराईले सार्वजनिक, निजी, सहकारी र समुदायको भूमिका पनि स्पष्ट हुनुपर्नेमा जोड दिए । 

पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आयोजना वर्गीकरणको मापदण्ड पालना गर्दै सीमित र कार्यान्वयन हुने खालका आयोजनाहरू ल्याउन आग्रह गरे । उनले वित्त नीति र मौद्रिक नीतिबीच तालमेल हुनुपर्नेमा जोड दिए । 

पूर्व अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवका आयोजनालाई चरणबद्ध रूपमा सम्पन्न गर्न जरुरी रहेको धारणा व्यक्त गर्दै बनेका पूर्वाधारहरूलाई सदुपयोग गर्नुपर्ने बताए । उनले सूचना प्रविधिलाई विशेष महत्व दिनुपर्ने उल्लेख गर्दै प्रादेशिक हिसाबले पनि सन्तुलित बजेट ल्याउन सुझाव दिए । त्यसैगरी पूर्व अर्थमन्त्री जनार्दन शर्माले आयतमा आधारित राजस्वलाई आन्तरिक उत्पादनमा आधारित बनाउनुपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update