
रौतहट - व्यापारीहरूलाई धाक धम्की, अभद्र व्यवहार गरी रकम असुली गर्ने कार्यमा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
व्यापारीहरूलाई पत्रकार हुँ भन्दै धम्की दिई रकम असुल्ने गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा घर भई हाल वीरगञ्ज–१६ नवगा टोल बस्ने ४५ वर्षीय विष्णु सर्राफलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
यहाँका व्यापार व्यवसायीलाई पत्रकारिताको आडमा धाक धम्की दिई रकम असुल गर्ने जस्ता कार्य भई रहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गण्डक चोकबाट बिहीबार सर्राफलाई पक्राउ गरेको हो ।
बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार पक्राउ परेका सर्राफमाथि धम्की, अभद्र व्यवहार र रकम असुली गरेको आरोपमा थप अनुसन्धान भइरहेको छ । गैरकानुनी गतिविधिमा संलग्न अन्यको पनि खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।