Harsamaya
सरकारको आलोचना गरेपश्चात् महामन्त्रीद्वयमाथि उठ्यो प्रश्न 
नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा ।

काठमाडौं -  सत्तामा रहेको दल नेपाली कांग्रेसका महामन्त्रीहरूले नै सरकारमाथि प्रश्न उठाए पश्चात् पार्टी बैठकमा नेताहरूले आपत्ति जनाएका छन् । 

बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा प्रश्नको घेरामा महामन्त्रीद्वय परेका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई नेताहरूले ‘सरकारको आलोचना’ गरेकोमा आपत्ति जनाउँदै प्रश्न उठाएका छन् । 

पार्टी बैठक पश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता प्रकाशशरण महतले आफूले नै महामन्त्रीद्वय माथि प्रश्न उठाएको बताए । उनले पार्टीको फोरमा छलफल नगरी किन बाहिर बोल्दै हिँडेको भन्दै प्रश्न उठाएको बताए । 

‘यो विषयमा मैले पनि भन्दै आएको थिए सम्बन्धित संरचनामा राख्नुपर्यो त्यहाँबाट आएको निष्कर्षको आधारमा बाहिर कुरा राख्नुपर्छ भनेर मैलेनै कुरा राखे‚’ उनले भने । आफूले कुरा राखे पश्चात् महामन्त्रीद्वयले पनि आफूले बोलेको कुरालाई मनन गरेको दाबी उनको थियो । ‘हामीले भनेको कुरा उहाँहरूले महसुस गर्नुभएको छ‚’ उनले भने । 

कांग्रेस-एमाले सरकारको विषयमा सर्वप्रथम आलोचना गर्ने कांग्रेस नेता डा. शेखर कोइराला हुन् । उनले निरन्तर सरकारको आलोचना गर्दा पनि महामन्त्रीद्वय थापा र शर्मा भने मौन नै रहेका थिए । महामन्त्री गगन थापा त सरकारलाई सफल बनाउन कांग्रेस-एमाले सम्मिलित संयन्त्रमा बसेर काम गरेका नेता हुन् । तर‚ आफूहरूले दिएको सुझाव अनुसार सरकार नचलेको अभिव्यक्ति उनले दिँदै आएका छन् । त्यसैले केही दिनदेखि महामन्त्रीद्वय थापा र शर्माले विगत केही दिनदेखि सरकारको विपक्षमा निरन्तर बोल्न थालेका छन् ।

संयन्त्रमै बसेर काम गरेका महामन्त्री थापाले २ दिन अघिमात्र बिचौलियाको पहुँच प्रधानमन्त्रीको शयनकक्षसम्मै हुने गरेको आरोप लगाएका थिए । मंगलबार एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिलेको अर्थतन्त्रमा बिचौलायाको कारण समस्या आएको बताए थिए । 

‘प्राइभेट सेक्टर र बिचौलिया भनेको फरक कुरा हो। हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको बिचौलियाको कारणले हो,' उनले भने, 'म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो। नेतृत्वको बेडरुमसम्म हुने भयो।' उनले राष्ट्र बैंकको गभर्नरको बारेमा छलफल हुँदा खुला रूपमै बिचौलियाको उम्मेदवार भनिने अवस्था आउनु दुखद् भएको बताएका थिए । 

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि वर्तमान सरकार समर्थनका लागि योग्य नभएको भन्दै अभिव्यक्ति दिएका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले गर्नुपर्ने निर्णयमा विलम्ब गर्ने र नगर्नुपर्ने निर्णयमा हतारो गर्ने सरकारको प्रवृत्ति समर्थनका लागि योग्य नभएको बताएका हुन्। 

'नगर्नुपर्ने निर्णयमा हतारो/गर्नुपर्ने निर्णयमा विलम्ब, सरकारको यो प्रवृत्ति समर्थन योग्य छैन,' उनले भनेका छन्‚ 'मुख्य दुईदल सम्मीलित सरकारको गति संतोषजनक भएन।'
शर्माले कमजोरीबारे समीक्षा गरेर सरकारको कामको गति बढाउनुपर्ने बताएका छन्। 

उनले भनेका छन्, 'कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ। सरकार अलमल बाहिर अनुभूतिमा भेटिनुपर्छ। सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ।'

सरकारसँग देउवा पनि असन्तुष्ट 
बिहीबारको बैठकमा सरकारको गतिविधि र कार्यशैली प्रति सभापति शेरबहादुर पनि असन्तुष्ट देखिए । एक नेताका अनुसार बैठकमा देउवाले पनि वर्तमान सरकारले सुधार गर्नुपर्ने र सच्याउनुपर्ने ठाउँ रहेको बताएका थिए । उनले कांग्रेस वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विपक्षमा नभएको स्पष्ट पार्दै सुधार भने आवश्यक रहेको बताएका थिए । 

‘सरकारले केही कुरा सुधार गर्नुपर्छ, सच्याउनुपर्छ । हामी सरकारको विपक्षमा छैनौँ‚’ उनले बैठकमा भनेका थिए । साथै देउवाले एमालेसँग भएको समझदारीप्रति प्रतिबद्ध भएको भन्दै सरकारको पक्षमा बोल्न सबैलाई अनुरोध गरेका थिए । सरकारको कमीकमजोरी भए आफूलाई सुनाउन र सोही अनुसार आफूले ओलीसँग छलफल गर्ने आश्वासन देउवाले पदाधिकारीहरूलाई दिएको ती पदाधिकारीले सुनाए । 

बैठक पश्चात् बोल्दै प्रवक्ता महतले पनि सरकारले ‘पर्फमेन्स वेटर’ गर्नुपर्ने विषयमा छलफल भएको बताए ।‘सरकारको पफर्मेन्स अझै राम्रो हुनुपर्छ, गठबन्धन दलहरूबीच अझै समन्वय र सन्तुलन हुनुपर्‍यो भन्ने कुराहरू आएको छ,’ उनले भने, ‘गठबन्धन दलसँग नियुक्ति लगायतमा तालमेल मिल्नुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभयो।’ साथै उनले गठबन्धन दलभित्र थप सुधार र समन्वयको आवश्यकता भएको पनि बताए । ‘विभिन्न पदमा नियुक्तिको कुरा छ र त्यो पनि प्रोफेसन्नली आउनुपर्छ भन्ने साथीहरूको कुरा छ‚’ उनले भने । 

साथै उनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले भन्दैमा सरकार नढल्ने पनि स्पष्ट पारे । प्रवक्ता महले सरकारको प्रतिपक्षमा भएको दलले सरकार ढलीहालोस् भन्ने चाहाना राख्नु स्वाभाविक धर्म भएको पनि बताए । उहाँ (प्रचण्ड) ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन‚’ उनले भने । माओवादी अध्यक्ष प्रचण्डले नयाँ वर्षकै दिन एक कार्यक्रममा बोल्दै वर्तमान सरकार ढल्ने र कांग्रेस नेतृत्वमा सरकार बन्ने दाबी गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update