Harsamaya
२९ वर्षदेखि ओडारमा व्यापार
दोलखाको तामाकोशी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भीरको ओडारमा व्यापार गर्दै आएका ठाउँको तस्वीर।

रामेछाप - दोलखाको तामाकोशी गाउँपालिका– ५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । ०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनाका लागि तामाकोशी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौं ओहोरदोहोर गर्न थालेकाले उनले ‘चिया चमेना’को व्यापार सुरु गरेका थिए ।

तत्कालीन समयमा कार्कीले ओडारबाट सुरु गरेको व्यापार अहिले जस्ताको छानो हालेर परिमार्जन गरेका छन् । ६४ वर्षीय कार्कीले पाँच छोरी र दुई छोरासहित नौजनाको परिवारको पालनपोषण यही ओडारको पसलबाट भएको आम्दानीबाट गरिरहेका छन् ।

जीविकोपार्जनमा समस्या भएपछि भारतको सिलिगुढीमा १८ वर्षसम्म ज्याला–मजदुरी गरेर केही रकम लिई उनी स्वदेश फर्किएका थिए। सोही वेलादेखि सुरु गरेको ओडारको पसलले अहिले उनीहरूको सहज रूपमा जीविकोपार्जन भइरहेको छ । ओडारको पसलमा किराना सामान, चिया, खाजा र अनुरोध भएमा खानासमेत खुवाउने व्यवस्था भएको कार्कीले जानकारी दिए ।

‘त्यसवेला यहाँ लगाएको वरपीपल अहिले शीतल बस्ने चौतारो बनेको छ भने बाँसका झाङ फैलिँदै गइरहेका छन्, केरा, अम्बा, आँटीलगायत फलफूलहरू पनि पाक्ने वेला भए पनि बाँदरले दुःख दिने गरेको छ,’ उनले भने ।

चार–पाँच आना जग्गामा गरेको उब्जनीले तीन महिना पनि खान नपुग्ने भएपछि विकल्पको खोजीमा यहाँ आइपुगेको कार्कीले बताए । यही व्यापारबाट तामाकोशी– ५ मा ६ आना जग्गा किनेर भूकम्प प्रतिरोधी दुईकोठे कच्ची घर बनाएको उनले उल्लेख गरे ।

सबै छोराछोरीको विवाह गरिसकेका कार्की आफ्नी ६२ वर्षीया श्रीमती डम्बरकुमारीको सहारामा पसल चलाउने र घरायसी काम गर्ने गर्छन् । ‘पाँच छोरीको विवाह गरेर आ–आफ्नो घर पठाइसकेँ, दुई छोरामध्ये जेठोको पनि विवाह भइसक्यो, कान्छो काठमाडौंमा छ,’ कार्कीले भने ।

पसलबाट सुरुआती चरणमा दैनिक रु. दुई हजार पाँच सयदेखि रु. १० हजारसम्म व्यापार हुने गरेको बताउँदै कार्कीले ग्राहकले आधुनिक बसाइ, खाना खोज्नाले अहिले दैनिक रु. पाँच–६ सयको मात्र बिक्री हुने उल्लेख गरे।

गत असोजमा १२ गते आएको बाढीका कारण रोशी खोलाले बिपी राजमार्ग अवरुद्ध पारेपछि काठमाडौंबाट रामेछाप, दोलखा, सोलु र सिन्धुलीका विभिन्न भागमा आउने–जाने सवारीसाधन पुष्पलाल मार्गबाट सञ्चालन हुँदा आफ्नो व्यापार बढेको कार्कीले बताए । बिपी राजमार्ग सञ्चालनमा आई खुर्कोटको पुलसमेत बनेपछि पुनः व्यापार घटेको उनले सुनाए ।

०७२ को भूकम्पले समेत ओडारकाे पसलमा कुनै क्षति नपुगेको उनले बताए । ‘पटकपटक वडा र पालिकाले भूकम्पको जोखिम भएकाले यहाँ नबस्न अनुरोध गरिरहेका छन् । लामो समयदेखि यहीँ बसेर व्यापार गरेको र केही संरचना पुनर्निर्माण गरिसकेकाले यहाँबाट अन्यत्र जान सकेको छैन,’ उनले भने ।

ओडारमा अहिले पनि बिजुली बत्ती नजोडिएको भन्दै कार्कीले पटकपटक प्रयास गरे पनि ऐलानी जग्गामा अस्थायी बसोबास भएकाले विद्युत् प्राधिकरणले खम्बा र मिटर नदिएको गुनासो गरे । सोही कारणले साँझ अबेरसम्म बस्न नसकिने र व्यापार पनि कम हुने उनको बुझाइ छ ।

‘मैले रोपेको बाँसमध्ये सात झाँङ फस्टाएकाले बिक्री गर्ने वेला भएको छ । वर, पीपल ठुला भएर शीतल बस्ने चौतारो बनिसकेको छ । केरा, आँटी, अम्बालगायत फलफूलहरू फल्न लागिसकेका छन् । यो ठाउँ छाडेर कहीँ जान मन लाग्दैन,’ कार्कीले भने । स्थानीय सरकारले विद्युतकाे व्यवस्था गरिदिए व्यापार गर्न सहज हुने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update