Harsamaya
काभ्रेपलाञ्चोकमा रेबिज आतङ्क: सावधानी र सचेतनाको अपिल
ग्राफिक्स : हर समय/Har Samaya

काभ्रेपलाञ्चोक - रेबिज रोगका कारण एक महिनाअघि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलको एक ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भयो । मृत्यु हुनु करिब एक महिनाअघि रेबिज सङ्क्रमित कुकुरले टोकेपछि उपचारार्थ स्थानीय अस्पतालमा लगिएपछि रेबिज सङ्क्रमणको शङ्कामा काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा ‘रेफर’ गरी पठाइएको थियो । सोही अस्पतालमा उपचारका क्रममा ती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनायो ।

काभ्रेपलाञ्चोकमा चार वर्षपछि पुनः रेबिज रोगको सङ्क्रमणबाट मानिसको मृत्यु भएको हो । यसअघि उक्त सङ्क्रमणका कारण २०७६ देखि २०७९ सालसम्म तीन वर्षको अवधिमा काभ्रेपलाञ्चोकको छजनाको मृत्यु भएको थियो । कार्यालय प्रमुख रागिनी कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमित महिलाको गत मङ्सिर २९ गते उपचारका क्रममा निधन भएको हो ।

उनका अनुसार कुकुरले टोकेका बारेमा परिवार आफन्तमा कसैलाई नभनेको र टोकेको केही दिनपछि बिरामी भएपछि स्थानीय अस्पतालमा उपचार गराउँदा रेबिजको भाइरस भएको शङ्कामा टेकु अस्पताल रेफर गरिएको थियो । “टेकुमा उपचार गरिरहेको अवस्थामा करिब हप्ता दिनपछि ती महिलाको मृत्यु भएको खबर आयो”, उनले भने ।

सामुदायिक कुकुरको सङ्ख्या तुलनात्मक रुपमा बढिरहेकाले सावधानी अपनाउन स्थानीय तह स्तरमा समेत आग्रह गर्दै विशेष रुपमा निगरानी बढाइएको श्रेष्ठले बताए । उनका अनुसार स्थानीय तहमा रेबिजविरुद्धको विशेष सचेतना कार्यक्रम लैजाने तयारी भइरहेको छ । रेबिज सङ्क्रमणका बारेमा सचेतना गर्न, रेबिजबाट बच्न नागरिकलाई खोप सेवा लिन र रेबिज लक्षण भएका कुकुर, जङ्गली जनावर तथा अन्य पशु देखिए तत्काल खबर गर्न अनुरोध गरिएको श्रेष्ठले बताए ।

काभ्रेपलाञ्चोकमा यसअघि २०७७ मा असोजदेखि करिब चार महिना पशुचौपायामा रेबिज रोगको सङ्क्रमण फैलिएको थियो । कार्यालयको तथ्याङ्कअनुसार त्यसलगत्तै मङ्सिरपछि रेबिजको आतङ्कका रुपमा फैलिएपछि करिब दुई वर्षको अवधिमा विभिन्न मितिमा चौँरीदेउरालीमा एक बालक र दुई पुरुष, पनौतीको कुशादेवीमा एक महिला र धुलिखेलमा एक युवा गरी पाँचजनाको मत्यु भएको थियो भने विसं २०७६ मा चौँरीदेउरालीमा एक पुरुषको मृत्यु भएको थियो ।

यस्तै, एक हप्ताअघि रोशी गाउँपालिका–४ महादेवटारमा एक भैँसीको मृत्यु भएको जनाइएको छ । कुकुरले टोकेको करिब २० दिनपछि भैँसी मरेको हो । भैँसी बिरामी भएको चार दिनपछि उपचारका लागि गाउँपालिका पशु शाखा खबर गरिएको र उपचारका क्रममै रेबिजका कारण भैँसीको मृत्यु भएको पत्ता लागेको थियो । भैँसीले टोकेको कुकुर बेपत्ता छ । केही दिनदेखि स्थानीयले कुकुरको खोजी गरेको भए पनि कुकुर फेला नपरेको शाखाले जनायो । उक्त भैँसी पालेको परिवारलाई रेबिजविरुद्धको खोप लगाइएको जिल्लास्थित पशु सेवा कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रेबिज महामारी फैलन नदिन रेबिजको लक्षण देखिएका स्थानका नागरिक तथा सामुदायिक कुकुरलाई रेबिज विरुद्धको खोप अभियान सुरु गरिएको छ । रोशी गाउँपालिकामा अघिल्लो वर्ष रेबिजका कारण वडा नं ७ कटुञ्जे थानसिङ्गबेँसीमा करिब दुई दर्जन बाख्रा मरेका थिए । जिल्लाको अन्य स्थानीय तहमा पनि पशुमा रेबिज सङ्क्रमण देखिएको थियो ।

पशु सेवा कार्यालय धुलिखेलको प्रमुख वरिष्ठ भेटेरिनरी डा सिर्जा वाग्लेले रेबिज महामारी फैलन नदिन रेबिजको लक्षण देखिएका स्थानका नागरिक र सामुदायिक कुकुरहरुलाई रेबिजविरुद्धको खोप लगाउने अभियान सुरु गरिएको बताए । स्थानीय तहसँगको समन्वयमा पहिलो चरणमा करिब चार सय सामुदायिक कुकुरहरुलाई खोप लगाइएको छ ।

यसअघि २०७९ सालमा महाभारत गाउँपालिकाको दुई गाउँमा रेबिज रोगको सङ्क्रमण नियन्त्रणमा ल्याइरहेका बेला काभ्रेपलाञ्चोककै अर्को स्थानीय तह मण्डनदेउपुरको एक वडामा सङ्क्रमण देखियो । केही हप्ताअघि मण्डनदेउपुर नगरपालिका–१० मा मरेको एक कुकुरमा परीक्षण गर्दा बिहीबार रेबिज पुष्टी भएको थियो ।

उक्त वडामा मरेको एक कुकुरमा परीक्षण गर्दा रेबिज पुष्टि भएपछि त्यस क्षेत्रका स्थानीय ३० नागरिक तथा करिब दुई दर्जन पशुचौपायालाई खोप लगाइएको थियो । त्यसअघि मण्डनदेउपुर नगरकै केही स्थानमा बितेको दुई महिनाको अवधिमा २२ वटा गाई मरेका थिए । आशङ्कामा जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले मरेका तीनवटा गाईको उत्खनन गरी परीक्षण गरेको थियो । त्यसबेला केही गाई बिरामी परेका थिए ।

सोही अवधिमा जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिजका कारण पशुचौपाया मरेपछि करिब एक सय स्थानीयलाई रेबिजविरुद्ध खोप दिएको थियो । गत साल मङ्सिरमै महाभारतका दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेका थिए । कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिका–१ वडाको गोकुले र ८ नं वडास्थित घर्तिछापका एक सय स्थानीयलाई रेबिजविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य शाखाले जनायो । शाखाका अनुसार मरेका पशुको मासु खाएका थप स्थानीयको खोजी कार्य गर्दै थप डेढ सय पशु चौपायालाई रेबिजविरुद्धको खोप दिइएको थियो ।

रेबिज सङ्क्रमण फैलन नदिन गाउँपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपन्छी शाखाले दैनिक निगरानीसँगै नियन्त्रणका हरसम्भव प्रयास गरेका थिए । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले त्यसबेला गाउँमा चेतनामूलक ¥याली तथा स्थानीय विद्यालयमा दैनिक विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै गरिएको थियो । साथै, मासु खाएका कारण दुई गाउँका करिब ८० जना ‘ट्रेसिङ’मा परेका सबैलाई रेबिजविरुद्धको खोप लगाइएको थियो ।

घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको स्वास्थ्य कार्यालयले जनाउँदै आएको थियो । यस्तै २०७७ भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण चार दर्जनभन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो । कार्यालयले त्यतिबेला दुई सय ८९ स्थानीय व्यक्तिलाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएका तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाइएको थियो ।

केही वर्षदेखि लगातार रेबिज सङ्क्रमणबाट आतङ्कित भएपछि २०७९ भदौबाट काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा र मङ्सिरमा दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाबाट रेबिज खोप दिइएको थियो । भुम्लु र महाभारतका विभिन्न स्थानमा रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको हो ।

कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण महाभारतका दुई गाउँमा दुई गाई मरेपछि मरेका गाई काटेर खाएपछि गाउँपालिका–१ को गोकुले र ८ नं वडास्थित घर्तिछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा एक सय ६० डोज खोप रेबिज प्रभावित क्षेत्रमा उपलब्ध गराइएको थियो । मरेका दुई गाईका केही अङ्ग गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा रेबिज रोगबाट गाई मरेको पुष्टि भएको थयो । मरेका गाईको मासु खाएका कारण दुई गाउँका करिब ६० जना ‘ट्रेसिङ’मा परेका थिए ।

उक्त गाउँमा करिब एक महिनासम्म स्थानीय जनप्रतिनिधि, अगुवालगायत विद्यार्थीले चेतनामूलक र्‍यालीको आयोजना गरे । साथै, गाउँपालिकाका देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा पशु चौपायालाई सुरक्षित गर्नेबारे समन्वय गरी त्यस समयमा रोकथाम गरिएको थियो । त्यसबेला काभ्रेपलाञ्चोकमा तीन महिनापछि पुनः महाभारतमा रेबिज रोग फेलापरेको थियो ।

त्यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशु चौपायाको मृत्यु भएको थियो । कार्यालयले त्यतिबेला दुई सय ८९ जनालाई रेबिजविरुद्ध खोप लगाएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाउनुपरेको कार्यालयले जनाएको छ । त्यस बेलाका घटनाक्रमले काभ्रेपलाञ्चोकमा रेबिज रोगको सङ्क्रमण केही वर्ष नै रहिरहने देखिएको थियो । दुई वर्षअघि देखि रेबिजबाट मानिसको मृत्यु भएपछि स्वास्थ्य कार्यालय र केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै पनि आएको थियो ।

चिकित्सकका अनुसार रेबिजविरुद्धको खोपले रेबिज सङ्क्रमणबाट बच्न सकिन्छ । ९९ प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दछ । सुरुमा घरपालुवा वा अन्य जनावरको ¥यालमा रहेका रेबिज भाइरस टोकाइबाट शरीरमा प्रवेश गर्दछ । शत्प्रतिशत प्राणघातक मानिएको उक्त रोग लागेको कुकुरले मान्छे, पशुपन्छीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ । राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेबिज सर्दैन ।

काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिजको भाइरस रगतबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्ने र गिदी सङ्क्रमित भएपछि मात्रै लक्षण देखिन थाल्ने गर्दछ । मानिसमा यो रोग लागेपछि ढिलोचाँडो मृत्यु निश्चित हुने गर्दछ । स्वास्थ्य तथ्याङ्कअनुसार नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ ।

विश्वका एक सय ५० देशमा हरेक वर्ष रेबिज रोगबाट ५९ हजार मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क पनि छ । प्राणघातक रेबिज रोग नियन्त्रणका लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाहरुबीच ऐक्यबद्धता प्रकट गर्न सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रुपमा मनाउने गरिएको छ । आगामी सन् २०३० सम्ममा विश्वमै रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ । 

लेखक :- राजकुमार पराजुली / रासस

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update