
काठमाडौं - काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिबाना तिर्न पत्र पठाएको छ ।
अस्पतालबाट फोहोर व्यवस्थापनको अनुगमनका क्रममा हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत बेवास्ता गरेपछि महानगरले जरिबानाको पत्र पठाएको हो ।
काठमाडौं महानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७ बमोजिम जरिबानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन् ।
ऐन बमोजिम रासायनिक फोहोरमैला, औद्योगिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहोरमैला, जोखिमपूर्ण फोहोरमैला वा हानिकारक फोहोरमैला जथाभावी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिबाना गराउन सक्ने व्यवस्था छ ।
यही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिबाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।