
सिरहा - यौन दुर्व्यवहार घटनापछि न्याय नपाउँदा मृत भेटिएकी सिरहाको नवराजपुर गाउँपालिका–३ दोनवारी टोलकी २४ वर्षीया आनन्दी देवी सदायको शव बुझ्न परिवारलाई प्रहरीले दबाब दिएको छ ।
आनन्दी मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीले परीक्षणका लागि शव लहानस्थित प्रादेशिक अस्पताल पठाएको छ । तर, पीडित परिवारले शव बुझेका छैनन् ।
घटनाका दोषी तथा दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आलटाल गर्ने प्रहरीमाथि छानबिन र कारबाही हुनुपर्ने माग पीडित परिवार तथा दलितका अगुवाहरूको छ ।
शव बुझ्न नमानेपछि सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मा, इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रहरी निरीक्षक रविनराज मैनालीलगायतका प्रहरी अधिकारी बुधबार बिहान पीडितको घरमै पुगेका थिए ।
उनीहरूले आफूलाई प्रहरीकै गाडीमा हिँड्न र अस्पताल गएर शव बुझ्न दबाब दिएको आनन्दीकी आमा बिल्टौन सदायले बताइन् । ’उहाँहरूले सँगै गाडीमा हिँड्न र शव बुझ्न भन्नुभयो,’उनले भनिन्, ’तर, यसमा संलग्नलाई कारबाहीको ठोस प्रतिबद्धता आउनुपर्छ ।’