Harsamaya
कविता: जुन
ग्राफिक्स: हर समय

त्यो जुनलाई एकटक हेरेर भन्छु
ए जुन, 
ए चन्द्रमा
तिमी कति शीतल छौं ? 
कति शालीन छौं ?

तिम्रो शीतलतामा,
म तिमीलाई हेरि रहन सक्छु
तिम्रो शालीनतालाई 
आफू भित्र बेरि रहन सक्छु ।

गुनासो छन् तिमीसँग
माया पनि त छ 
बिछोडका कथा छन् तिमीसँग
मिलन पनि त छ ।

तिमीसँग रातको लालित्यमा
गफ गर्दै निदाउन मन छ
तिम्रो शीतलतामा झुम्दै,
नाच्न अनि गाउन मन छ ।

चुम्न मन छ त्यो सगरमाथा
छिचोल्न मन छ अप्ठ्यारा बाटोहरू
तिमी बाटो देखाउनु मन्द प्रकाश भइ
साथ दिनु सारथी भइ 
ए जुन,
तिमी साथ दिन्छौं नि 
मेरो यात्रामा ?

तिम्रो रूपको मात्रै म वर्णन गर्दिन
तिमीसँग धेरै गुनासो पनि छ 
भन त तिमी !
महिनाको १५ दिन कहाँ हराउँछौं ?
जसरी लडाकू लडाइँमा जाँदा,
बेखबर भएर हराउँछ ।
अनि,
अर्को १५ दिन तिमी अर्ध हुन्छौं ?
जसरी प्रेमीविना प्रेमिका अर्ध हुन्छिन् ।

तिमी पूर्ण हुन पुर्णिमा आउनुपर्छ
म पूर्ण हुन तिमी आउनुपर्छ
तिमी अनि म बीचको,
यो सम्बन्ध कस्तो होला ?

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update