काठमाडौँ- हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानहरूमा बिहानैदेखि हुस्सु लागेको छ।
दिउँसोको अवस्था
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, बागमती, र कोशी प्रदेशका पहाडी क्षेत्रमा तथा अन्य भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना रहेको छ।
साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
रातिको अवस्था
राति कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतः सफा रहनेछ।
तर, कोशी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हिमपात हुने सम्भावना छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा छिटपुट वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने प्रक्षेपण गरिएको छ।
सतर्कता अनुरोध
मौसमको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर गर्न सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।