गण्डकी - पारदर्शीता र जवाफदेहिताका लागि सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
राष्ट्रिय सूचना आयोगको आयोजना एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको सहकार्यमा आज पोखरामा आयोजित प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार : कार्यान्वयनको चुनौति” विषयक अन्तरक्रियाका सहभागीले सूचना दिने र लिनेबीचमा आपसी विश्वास कायम हुनुपर्ने बताएका हुन् ।
गण्डकी प्रदेशका सामाजिक विकास युुवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले राज्यको सूचनामा नागरिकको पहुँच अपरिहार्य भएको बताए । हाल कतिपय स्थानमा सूचना लुकाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै उहाँले सूचनालाई सहीरुपमा लिने र दिने क्रमले पारदर्शीता र जवाफदेहिता बढ्ने धारणा राखे ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूूचना आयुक्त डा.सुरेश आचार्यले नागरिकले सूचना पाउने अधिकारलाई प्रत्याभूत हुने गरी काम गर्नुपर्नेमा जोड दिए । सूचना लुकाउन नहुने बताउँदै उहाँले सूचनाको हकसम्बन्धी कानुनले व्यवस्था गरेअनुुसार नागरिकलाई सहजरुपमा सूचना दिनुु सूचना अधिकारीको दायित्व हुने धारणा राखे ।
उनले सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी भिन्न व्यक्ति हुुनुुपर्ने बताए । गण्डकी प्रदेशका प्रमुख सचिव रघुुराम विष्टले सूचना दिने र लिने बीच सहज पहुँच आवश्यक हुने बताए । गण्डकी प्रदेशका प्रदेश सचिव केशबराज ढकालले प्रदेशमा सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयनका सन्दर्भमा भएका प्रयास बारे जानकारी गराए ।
राष्ट्रिय सूचना आयोगका सचिव कमलप्रसाद भट्टराईले सार्वजनिक सेवा प्रवाहको कामलाई परादर्शी एवम् प्रभावकारी बनाउन सूचनाको हकको उपयोग हुनुुपर्नेमा जोड दिए ।