
बैतडी - बैतडीमा पहिलो पटक नगर बस सञ्चालनमा आएको छ । सदरमुकामस्थित दशरथ चन्द नगरपालिकाले नगर स्थापना दिवसका अवसरमा ३२ सिटको नगर बस सञ्चालनमा ल्याएको हो । नगरपालिकाको तेस्रो स्थापना दिवस तथा २९औँ वार्षिकोत्सवका अवसरमा नगरप्रमुख पुष्करराज जोशी (लख्खाभइ) आफैँले बस चलाएर उद्घाटन गरे ।
४९ लाखमा खरिद गरिएको ३२ जनाको सिट क्षमता रहेको नगर बसमा सिसी क्यामरा, वाइफाई, पङ्खा र जिपिएस जडान गरिएको छ । विसं २०५४ चैत २४ गते स्थापना भएको दशरथ चन्द नगरपालिका देशका पुराना ५८ नगरपालिकामध्ये एक हो। स्थानीय तहको दोस्रो निर्वाचन २०७९ सालमा पुष्करराज जोशी नगर बस सञ्चालन गर्ने चुनावी घोषणापत्र लिएर निर्वाचित भएका थिए ।
जनतासँग गरेको चुनावी वाचा अनुसार नगर बस सञ्चालनमा ल्याउन पाउँदा खुसी लागेको उनले बताए । कार्यविधि बनाएर नगर बस सञ्चालनमा ल्याइएको उनले स्पष्ट पारे । बैतडीमा दशरथ चन्द नगरपालिकासहित चार नगरपालिका र छ वटा गाउँपालिका रहेका छन्।
यीमध्ये दशरथ चन्दले पहिलो पटक नगर बस सञ्चालन गरेको छ । नगर बस सेवाको औपचारिक रूपमा उद्घाटन भए पनि नयाँ वर्षदेखि नियमित रूपमा सेवा सञ्चालन हुने प्रमुख प्रशासकीय • अधिकृत नवीनचन्द्र पाण्डेयले बताए ।