
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नव वर्ष देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन रहेको बताएका छन् ।
नव वर्ष २०८२ को शुभकामना दिदँै उनले आजको दिन विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिने दिन रहेको बताएका हुन् ।
‘हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौं । विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर संकल्पवद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो,’ उनले भने ।
उनले संघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमले मुलुक अघि बढ्रिहेको भन्दै स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न जरूरी रहेको बताए ।
‘संघीय गणतन्त्र र समावेशी लोकतन्त्रको माध्यमले सबैमा समान रुपले स्वतन्त्रताको उज्यालो एवम् फराकिलो लोकमार्गमा हाम्रो मुलुक अघि बढ्दैछ । आफ्नो भाग्य र भविष्य आफैंले निर्माण गर्ने विकासको बाटोमा जनता अघि बढिरहेका छन्’ उनले भने ।
राष्ट्रपति पौडेलले विदेश पलायन भैरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने वातावरण निर्माणका लागि आजको दिन प्रतिज्ञा गर्न आव्हान समेत गरे ।